शुल्क वृद्धिको विरोधमा आन्दोलनको घोषणा

काठमाण्डौं/१० चैत– सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले शुल्क वृद्धिको घोर आपत्ती जनाउंदै त्यसविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।


शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने कार्यक्रम तय गर्दै त्यहाँका सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम समेत घोषणा गर्दे विरोधमा उत्रिएका हुन् ।


शुल्क वृद्धि फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी रहने अखिल क्रान्तिकारीका अध्यक्ष गणेशराज मिश्रले बताए । उनले शुल्क वृद्धिविरुद्ध तीन दिन सम्म विरोधका कार्यक्रम गर्ने समेत जानकारी दिए ।


विरोधका क्रममा विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय क्याम्पसको लेखा शाखामा तालाबन्दी गरेर त्यहाँका पदाधिकारीहरुलाई कार्यालय प्रवेशमा निषेध गरेका छन् भने दुरुपयोग भएका सवारी साधनलाई नियन्त्रणमा लिने कार्यसमेत जारी राखेका छन् ।


कोरोना महामारीले कतिपय अभिभावकले रोजगारी समेत गुमाउनु परेको कारण अधिकांश विद्यार्थीले विश्वविद्यालयको शुल्क तिर्न नसक्ने अवस्था भएकाले यसका विरुद्ध विरोधमा उत्रिनु परेको विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीको धारणा छ ।
विद्यार्थीहरुले शुल्क वृद्धिको विरोधमा अध्यापनको कार्यलाई विना अवरोध दुई साता अघिदेखि विरोधका कार्यक्रम समेत गर्दै आएका छन् ।