शिक्षा मन्त्रालयद्वारा आवश्यक जनशक्ति विवरण पठाउन सबै स्थानीय तहलाई आग्रह

काठमाण्डौं /२७ फागुन– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको मानव संसाधन (जनशक्ति) विकास योजना शाखाले स्थानीय तहको विद्यमान दरवन्दी संरचनामा भावी दिनमा विषयगत कार्य प्रकृति अनुसार स्थानीय तहलाई सार्वजनिक सेवाका सम्बन्धित विषय क्षेत्रहरूमा आवश्यक जनशक्ति विवरण स्पष्ट खुलाई फाराम भरी पठाउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहका लागि निर्धारित सार्वजनिक सेवाका संगठन संरचना, प्रक्षेपण गरिएका जनशक्ति एवम् विषयगत सीपको मूल्यांकन अनिवार्य भएकाले सामान्य प्रकृतिका सेवा तथा प्राविधिक एवम् व्यावसायिक सीपका जनशक्तिको पहिचान तथा तिनका लागि निर्धारित दरवन्दीहरुको यथार्थ विवरण अध्ययन थालेकोले मन्त्रालयले पठाएको फाराम भरी उपलब्ध गराउन अनुरोध गरेको हो ।

राज्यको तीनै तहका लागि संवैधानिक विषय क्षेत्रानुसार कार्य सम्पादन गर्न आवश्यकताअनुरुप जनशक्ति विकास, उत्पादन तथा सरकारी तथा सार्वजनिक क्षेत्रमा अवसरको पर्याप्तता र उपयुक्त प्रयोग क्षमताको सही विश्लेषण गरी विद्यमान जनशक्तिको राष्ट्रिय रुपमा नै शैक्षिक योग्यता, पेसागत सीप विकास तथा विषयगत सिकाइ क्षमतालाई विस्तृत रुपमा पहिचान गर्न खोजिएको भन्दै मन्त्रालयले सर्वेक्षण फाराम जारी गरेको छ ।

मन्त्रालयले विषयगत क्षेत्रका सबै पक्षको भावी योजना, रणनीतिहरु, साथै, संघ, प्रदेश तथा स्थानीय सरकार मातहतका शैक्षिक निकाय विश्वविद्यालय, प्रतिष्ठान तथा प्रशिक्षण तथा तालिम केन्द्र, स–साना सीप विकास केन्द्रहरुको समेत मानव संशाधन विकास योजनाको आँकलन तथा अनुमान गरेर राष्ट्रिय मानव संसाधन विकास योजनाको २५ वर्षे आधारपत्र संकलन तयार पार्ने उद्देश्य सहित संघ, स्थानीय तहको आवश्यकता स्थानीय तहबाट पूरा गर्न जनशक्ति विकासमा नीति, रणनीति तथा कार्यक्रमहरु सञ्चालित गर्न अभिलेख गर्ने भएको छ ।

साथै संघ, प्रदेश तथा स्थानीय तहका लागि कार्य प्रकृति अनुसार आवश्यक पर्ने पूर्ण दक्ष, दक्ष, अर्धदक्ष सीपयुक्त जनशक्तिको स्पष्ट पहिचान तथा सरकारी क्षेत्र, सामुदायिक क्षेत्र, सहकारी क्षेत्र, निजी क्षेत्र तथा वैयक्तिक आयाजर्नका क्षेत्रमा खपत हुने जनशक्तिको पूर्वानुमान आंकलनबाट समयमा नै उच्च शैक्षिक संस्था, तालिम प्रतिष्ठानहरुसंग मिलेर राष्ट्रिय मानव संसाधन विकासको योजना निर्माण र माग अनुसारको दक्ष जनशक्ति तयार पार्ने योजना मन्त्रालयको रहेको छ ।

सबै निकायहरुबाट प्राप्त हुने विवरण तथा मानव संशाधन विकास योजना जनशक्ति विकास, प्रक्षेपण तथा कार्यान्वयन गर्ने सर्वसम्मत वैज्ञानिक आधार तयार पार्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट माग गरीएको हो ।