महामारीपछि विद्यार्थीको मनोविज्ञान झन् खस्कंदै


काठमाण्डौं /२६ फागुन– कोरोना महामारीपछि अहिले देशका अधिकांश स्कूलका विशेष गरी कक्षा ८, ९ र १० मा पढ्ने प्रायः विद्यार्थीहरु र त्यसमा पनि विशेषगरी किशोरीहरुमा मनोवैज्ञानिक रुपले मानसिक चिन्ता, तनाव, नैराश्यता एवम् डिप्रेशनको समस्या देखा परेको छ ।

काठमाडौंको एक ग्रामीण सरकारी विद्यालय कक्षा ९ मा पढ्ने १४ वर्षीय कल्पना थापा (नाम परिवर्तन)को हरेक दिन डर र उदासीमा बित्छ । उनी भन्छिन् कोरोनाका कारण लामो समयको अन्तराल पछि बल्ल स्कूल खोलेको छ तर पनि पढाईमा त्यति ध्यान नै जांदैन । स्कूलमा जाँदाखेरी पनि पहिलेको जस्तो त्यति रमाईलो हँुदैन । विभिन्न समाचार हेर्दा, सुन्दा र पढ्दा अहिले सकरात्मक भन्दा पनि नकरात्मक कुराहरु बढी आईरहेका हुन्छन् । देशमा कहिले महामारीको आतङ्कले, कहिले आन्दोलनले र कहिले शिक्षक तथा साथीहरुबाटै बलात्कारको घटना सुन्नेले गर्दा आफूमा छुट्टै किसिमको डर पैदा भएको उनी बताउँछिन् । यस्ता घटनाले गर्दा बाबा–मम्मीले समेत स्वतन्त्र रुपमा बाहिर जान दिनुहुन्न, सिधै स्कूल जाऊ र घर आऊ, साथीहरुसँग छुट्टै बसेर रमाईलो गर्न मन लाग्छ, तर बाबा–ममीले गाली गर्नुहुन्छ, धेरै रुन मन लाग्छ ।’

कल्पनाको जस्तै सहरमा बस्ने बालबालिकाको अवस्था पनि उस्तै छ । राजनीतिक अस्थिरता र महिलाको असुरक्षाले गर्दा अहिले उनीहरुलाई जताततै निस्कनै डर लाग्छ । त्यसमाथि पनि कारोना आतंक अहिले निर्मूल नै भईसकेको अवस्था छैन । र यसबारे अभिभावक तथा शिक्षकले गरेका डरलाग्दा कुराले पनि उनीहरूमा त्रास बढाएको छ ।

खबर एजुकेशनले स्कूल पढिरहेका केही बालबालिकासँग अन्तर्वार्ता गर्दा आफूहरूमा कोरोनाको डरसँगै स्कूलमा दिएको परीक्षाको परिणाम र दिनहुँ बढ्दै गईरहेको छात्राहरुको बलात्कार विषयको घटना र हत्याको विषयले गर्दा आफूहरुलाई असुरक्षित महशुस भईरहेको उनीहरु बताउँछन् । यसले उनीहरूमा डर र चिन्ता बढिरहेको देखिन्छ ।

कोरोना महामारी पश्चात् धेरै बालबालिकामा मनोवैज्ञानिक असर परेको बाल मनोविद्हरूको विश्लेषण छ । मनोविद्हरुका अनुसार अहिले आएका थुप्रै केसमध्ये प्रायः केस कोरोनाको महामारीले निम्त्याएको बताउँछन् । उनीहरूले यहिसँग डर लाग्यो भन्दैनन् । तर, मानसिक रूपमा तनाव सिर्जना भएको समस्या भने भन्ने गरेका छन्, कतिपय समस्या भने विभिन्न समयमा भएका बलात्कारका घटना, हत्या र समय समयमा हुने राजनीतिक आन्दोलनको विषयले भयको वातावरण पुनः दोहोरिएको मनोविश्लेषकहरुको बुझाइ छ । भूकम्पमा पनि बढी आत्तिएका कारण धेरै बालबालिकामा पछि एन्जाइटीको समस्या देखिएको मनोविश्लेषक वासु आचार्य बताउँछन् ।

सहरमा कतिपय बालबालिका भने ग्याजेटमा मात्र अल्झिरहँदा उनीहरूमा गेमको एडिक्सन भएको जसले गर्दा बाहिर सहजै घुलमिल हुन नसक्ने, पढ्न मन नलाग्ने जस्ता समस्या सिर्जना भएको मनोविश्लेषक आचार्य बताउँछन् ।

मनोविद्हरुका अनुसार कोरोना, पढाइको चिन्ता र बेला बेलामा सुन्ने बलात्कार र हत्याको घटनाको विषयले गर्दा बालबालिकामा यस्तो समस्या देखिएको हो ।

बालबालिकाको मनोविज्ञान यतिबेला अभिभावकको व्यवहार र भूमिकामा पनि निर्भर हुन्छ । यो बेलामा अभिभावकले कुन तरिकाले आफ्ना बालबच्चाहरुलाई शिक्षा दिईरहेका छन्, कोरोना संक्रमणबाट कसरी सुरक्षित हुन सिकाएका छन्, कसरी नआत्तिन सिकाएका छन्, बालबालिकालाई घरमा बस्दा कुन वातावरण सिर्जना गरिदिएका छन् भन्ने कुराले पनि निर्धारण गर्छ ।

अहिलेको समयमा बालबालिकाले कहिल्यै नभोगेका कुरा भोगिरहेका छन् । यस्तो समयमा परिवारले बालबालिकालाई नबुझेर गाली गर्दा ठूलो मनोवैज्ञानिक असर पर्ने मनोविश्लेषकहरुको भनाई छ । महामारीको कारण राजनीतिक अस्थिरता, आर्थिक संकटका कारण कतिपय संघ–संस्थाहरु बन्द भएका छन् भने कतिपयको जागिर नै गएको छ । यो बेला अभिभावक आफैं पनि चिन्तामा छन् । यसले केही अभिभावक रिसाउने, गाली गर्ने वा पिट्ने स्वभावका हुन्छन् । जसले गर्दा शिक्षाका लागि अभिभावकले जति मेहेनत गर्नुपर्ने हुन्थ्यो, त्यो अहिले घट्दै गईरहेको अवस्था सिर्जना भएको छ । यसले पनि बालबालिकाको जीवनमा नकरात्मक असर पारेको भन्दै मनोविश्लेषकहरु तर्क राख्छन् ।

कतिपय अभिभावक कामविहीन छन् । खान पनि धौ–धौ पर्ने स्थिति सिर्जना भएको छ । यसले पनि बालबालिकालाई ठूलो असर परेको देखिन्छ । यसका लागि स्थानीय निकायदेखि सरकारको पहलकदमी नै आवश्यक छ ।

कोरोना पश्चात् अहिलेको अवस्था हामी सबैका लागि उति नै संवेदनशील बनेको छ । तसर्थ, यसबाट सिर्जना भएका हरेक किसिमका समस्याहरु समाधान गर्दै लैजान, देशमा बलात्कार र हत्या जस्ता जघन्य अपराध हुन नदिन सरकारी तहदेखी विभिन्न संघ–संस्था तथा निकायले सोच्नुपर्ने देखिन्छ ।

विद्यार्थीहरुलाई पढाईप्रतिको चासो, हौसला र उचित वातावरण समय मै दिन सकिएन भने तिनीहरुमा निराशाको भावना आउँछ र मनोवैज्ञानिक समस्या सुरु हुन्छ । त्यसैले बालबालिकालाई मनोवैज्ञानिक रूपमा बलियो बनाउनका लागि अभिभावक, शिक्षक र सम्बन्धित निकायबाट पढाईका लागि केही योजना बनाएर उनीहरूलाई निर्धक्कको वातावरण तयार गर्नुपर्छ ।