नेपाल शिक्षक संघ राष्ट्रिय कार्यसमितिका अध्यक्षलाई शिक्षकको खुल्लापत्र

श्रीमान अध्यक्ष ज्यू

नेपाल शिक्षक संघ, राष्ट्रिय कार्यसमिति काठमाडौं ।

          विषय: सही जवाफ सहित समस्या समाधान गरी पाऊँ।

म विगत पच्चीस वर्षदेखि शिक्षण पेशामा आवद्ध रहँदै आएको छु। मैले मेरो शिक्षण यात्राको प्रारम्भ पूर्वी जिल्ला भोजपुरको साबिक च्याङ्गे गा. वि.स. हाल पौवादुम्मा गाउँपालिका-३ अन्तर्गत श्री पञ्चकन्या माद्यमिक विद्यालयबाट प्रारम्भ गरेको थिएँ र अहिले जनता नमुना माध्यमिक विद्यालय विराटनगर-२ मोरङमा माध्यमिक शिक्षकको (तृतीय श्रेणी) रुपमा अध्यापनरत छु।

मैंले शिक्षण पेशाको प्रारम्भसँगसँगै  पेशागत संगठन “नेपाल शिक्षक संघको” सदस्यता लिएर संघको सांगठनिक कार्यमा निरन्तर सक्रिय रहँदै आइरहेको छु। हाल म शिक्षक संघको विशिष्ट सदस्यको रुपमा रहेको पनि जानकारी गराउन चाहन्छु। शिक्षण पेशाको प्रारम्भ सँगै विगत पच्चीस वर्षदेखि निरन्तर यस संस्थामा सक्रियतापूर्वक काम गर्दै आइरहेको छु। मैले नेपाल शिक्षक संघ एउटा प्रजातान्त्रिक मूल्य मान्यताहरूका साथ अगाडि बढेको शिक्षकहरुको पेशागत हक र अधिकारको  सुरक्षा लागि लड्ने संगठन हो भन्ने सोच र मानसिकता लिएर शिक्षण पेशामा प्रवेश गरेसँगै यसको सदस्यता ग्रहण गरेको थिए। मेरो विश्वास थियो कि नेपाल शिक्षक संघ आम शिक्षकहरुको पिडा र दु:खमा सारथी बन्नेछ, शिक्षकहरुको घाउमा मलमपट्टी लगाउने छ, अनि शिक्षकहरुको हक र अधिकार कसैले खोस्न प्रयत्न गरेमा त्यसको विरुद्ध चट्टानी पहाड भएर उभिने छ। त्यसलाई परास्त गर्न आँधीबेहेरीको सिर्जना गर्ने छ।

 म मात्र होइन म जस्तै नेपाल शिक्षक संघमा आवद्ध रहेका आम शिक्षक साथीहरुको सोच र मानसिकता पनि यस्तै हुनु पर्दछ, यो मेरो एउटा विश्वास हो। हो म मा यही विश्वास अटल थियो र त्यही विश्वास र आस्थाले मलाई शिक्षक संघको सदस्यता बन्न सधै प्रेरित गर्यो अनि म शिक्षक संघको सदस्यता लिएर संघभित्र प्रवेश गरेको थिएँ। 

शिक्षक संघको सदस्यता ग्रहणसँगसँगै संघको संगठन विस्तारमा विगत पच्चीस वर्षदेखि अनवरत रूपमा सक्रिय रहँदै आँए। विगत पच्चीस वर्ष देखिको मेरो शिक्षण यात्राको क्रममा मेरो सामु जे-जस्ता कठिनाइ र अफ्ठ्याराहरु आएपनि शिक्षक संघको यात्रामा कुनैपनि प्रकारको विचलन पैदा हुन सकेन। तर आज शिक्षक संघ मोरङको नेतृत्वमा रहेका व्यक्तिहरुले म माथि गरिएको व्यवहारले मेरो शिक्षक संघप्रति रहेको आस्था र विश्वासमा तुषारापात भएको छ। मेरा पाइलाहरु डगमगाउन थालेका छन। मेरो आत्म विश्वासमा ठेस पुगेको छ।

नेतृत्वको व्यक्तिवादी सोच र मानसिकता, अप्रजातान्त्रिक चरित्र र क्रियाकलाप तथा आर्थिक मोहले शिक्षक संघका सदस्यहरू माथि नै विभेद सिर्जना भएको महसुस हुन थालेको छ। यस संघमा आवद्ध भएका सदस्यहरु माथि नै असमान व्यवहारका गरिन्छ भने संगठन कसरी बलियो हुन्छ ? नेपाल शिक्षक संघले शिक्षकहरुको हक र अधिकारको कसरी सुरक्षा गर्दछ ?

नेपाल शिक्षक संघ राष्ट्रिय कार्यसमिति र नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमितिका अध्यक्ष र प्रदेशका महासचिव समेत रहिसकेका शिक्षक नेताहरु एवम् आफूलाई शिक्षक आन्दोलनको पर्याय सम्झिने व्यक्तिहरू समेत आम शिक्षकको हकहितमा होइन , जो आफ्नो व्यक्तिगत सेवामा रातदिन खट्दछ त्यसैको पृष्ठपोषण गरेर हिड्छन भने यस्तो प्रकारको व्यक्तिवादी सोच र मानसिकता, अप्रजातान्त्रिक चरित्र र क्रियाकलाप तथा आर्थिक मोह बोकेका शिक्षक नेताबाट शिक्षक संघको संगठन विस्तारमा कसरी सहयोग पुग्ला ? 

शिक्षक संघका आदर्श र सिद्धान्तलाई शिरोधार्य गरेर अहोरात्र सांगठनिक कार्यमा सक्रिय रहेका इमान्दार र अनुशासित  सदस्यहरुलाई पाखा लगाउदै, उनीहरुलाई हतोत्साहित गर्दै शिक्षक संघका आस्था नबोकेका, चरित्र नभएका र रातदिन आफ्नो सेवा र चाकडिमा रहने हनुमान प्रवृत्ति भएकाहरुलाई मात्र विभिन्न स्थानीय तहको नेतृत्व जिम्मा दिइनु र त्यही नेतृत्वले शिक्षक संघमा आबद्ध रहेका सदस्यहरुको मान मर्दन गर्नु, अनावश्यक दुःख दिनु, काम गरिरहेका विद्यालयबाट अन्य विद्यालयमा सरुवाका लागि स्थानीय तहमा सिफारिस गर्नु र  आफू निकट रहेका तथा आफ्नो चाकडी गर्नेहरुको पृष्ठपोषण  गर्नु जस्ता अमर्यादित क्रियाकलापहरु संघको प्रजातान्त्रिक मूल्य र  मान्यता विपरित कार्य होइन र ?  एउटा इमान्दार, कर्तव्यनिष्ठ र सांगठनिक विस्तार कार्यमा अहोरात्र लागिरहने शिक्षकले शिक्षक संघको सदस्यको रूपमा रहिरहने अधिकार छ कि छैन ?

लामो समयदेखि निरन्तर शिक्षक संघको सदस्यको रूपमा क्रियाशील म जस्तो सदस्यलाई संघको सदस्यको रुपमा नरहोस् भन्ने कलुषित भावनाबाट प्रेरित भएर संगठनको भावना विपरित बारम्बार अनावश्यक दुःख दिने जस्ता अनुचित र गैर जिम्मेवारपूर्ण कार्य नेतृत्वमा रहेका व्यक्तिले गर्न मिल्छ र ? यि र यस्तै प्रकारका अनगिन्ती प्रश्नहरु मेरो मानसपटलमा घुमिरहेका छन् तर ति प्रश्नहरु मेरा लागि निरुत्तर नै रहीरहे। म एउटा शिक्षकको रुपमा न्वारान भएकै दिनदेखि पेशागत संगठन नेपाल शिक्षक संघको सदस्यता ग्रहण गरेको एउटा शिक्षकलाई आफ्नै  संगठनको नेतृत्वबाट बारम्बार अनावश्यक दुःख र पिडा दिने काम किन गरिदैछ ?  मैंले यसको जवाफ हजार प्रयत्न गर्दा पनि प्राप्त गर्न सकिन।  तशर्थ आज म नेपाल शिक्षक संघ, राष्ट्रिय कार्य समितिका अध्यक्ष ज्यू समक्ष मेरा मानसपटलमा बारम्बार उब्जिरहेका प्रश्नहरुको उचित जवाफको अपेक्षा सहित समस्या समाधानको आशा राखेको छु ।

  • नेपाल शिक्षक संघको स्थापना कुन उदेश्यले भएको हो ? शिक्षकहरुको पेशागत हक र अधिकारको सुनिश्चितताको लागि लड्न स्थापना भएको हो भने संघमा आवद्ध भएका  सदस्यहरु माथि नै असमान , अभद्र र असभ्य  व्यवहार किन गरिन्छ ?  यस्तै अवस्थामा शिक्षक संघमा नयाँ सदस्यहरुको प्रवेशका लागि आकर्षक हुन सक्ला र ?
  • नेपाल शिक्षक संघमा आवद्ध सम्पूर्ण सदस्यहरुको हक र अधिकारको रक्षा कसले गर्ने हो ?  नेतृत्वले कसका लागि नेतृत्व गर्ने हो ? शिक्षकहरुको हक र अधिकारको सुनिश्चितताको लागि या व्यक्तिगत स्वार्थका लागि ?
  • के संघको नेतृत्व पङ्क्तिमा रहने व्यक्तित्वले इमान्दार र संगठनमा क्रियाशील सदस्यहरुको तेजोवध गर्न मिल्छ ? शिक्षकहरु माथि असमान र अभद्र व्यवहार प्रदर्शन गर्न मिल्छ ? मिल्दैन भने मोरङ जिल्ला कार्यसमिति, नगर कार्यसमिति, र प्रदेश कार्यसमितिको नेतृत्वमा रहेका व्यक्तिहरुले मलाई संघबाट नै लघार्ने कोशिस किन गर्दैछन ?  संघका सदस्यहरूबीच विवाद भएमा नेतृत्व पङ्क्ति पक्ष र विपक्षमा लाग्ने हो कि दुवै पक्षहरुलाई एकै ठाउँमा राखेर विवाद मिलाउने दायित्व हो ?
  • के संघको कार्यकारिणी  समितिको नेतृत्व चयनमा संगठनमा क्रियाशील रहेका सदस्यहरुलाई प्रश्रय गर्ने हो कि चाकडी र चाप्लुसीवादलाई ? 
  • मिति २०७५ फाल्गुन १ मा मलाई विराटनगर महानगरपालिकाले अपमानजनक तरिकाले मैले अध्यापन  गरिरहेको विद्यालयबाट अर्को विद्यालयमा सरुवा गर्यो। सो महानगरको निर्णयलाई सहयोग पुर्याउने कार्यमा संघको नेतृत्वमा रहेका व्यक्तिहरु कै प्रत्यक्ष रूपमा संलग्नता रहेको थियो।  महानगरको सो निर्णय उपर मलाई चित्त नबुझेकोले मैंले उच्च अदालत विराटनगरमा उक्त निर्णयको विरुद्ध रिट दायर गरेको थिएँ। नौ महिना पश्चात सम्मानित उच्च अदालतले उक्त महानगरको सरुवा सम्बन्धी निर्णयलाई कानुन विपरित भन्दै बदर गरिदियो। रमाइलो कुरा त के छ भने मलाई महानगरले जुन विद्यालयमा सरुवा गरेको थियो त्यस विद्यालयमा नेपाल शिक्षक राष्ट्रिय महासंघको र नेपाल शिक्षक संघ राष्ट्रिय कार्य समितिका पूर्व अध्यक्ष कार्यरत थिए । उनैका जोड बलले मलाई त्यस विद्यालयमा हाजिर हुनबाट वञ्चित गराइयो। पेशागत शिक्षक संगठनको राष्ट्रिय नेता समेत भइसकेका एवम आफूलाई शिक्षक आन्दोलनको पर्याय सम्झने नेताले सरुवा भएर आउने  कुनैपनि शिक्षकलाई हाजिर हुनबाट वञ्चित गराउने कार्यमा संलग्न रहन्छ भने त्यो मान्छेले शिक्षक हक र अधिकारको सुनिश्चितताको लागि लड्छ भनेर कसरी विश्वास गर्ने ?
  • महानगरले गरेको सरुवालाई सम्मानित अदालतले गैर कानुनी ठहराई बदर गरेको बर्षदिन पुग्दानपुग्दै पूर्वाग्रही भएर पुनः अर्को सरुवाको निर्णय गरिनु र सो कार्यमा संघका पूर्व राष्ट्रिय अध्यक्ष एवम बहालवाला  प्रदेश महासचिव  समेतको संलग्नता रहनु के न्यायसंगत हुन्छ ? के यस घट्नाले संघमा आवद्ध रहेको एउटा शिक्षक संघको सदस्यको हुर्मत लिन खोजेको देखिदैन र ? यस्ता प्रवृत्तिका व्यक्ति शिक्षक संघको नेतृत्वमा रहिरहे संघको भविष्य कस्तो होला ? शिक्षकको  हक र अधिकारका लागि गरिने आन्दोलन  कुन दिशातिर जाला ? 

मेरो मानसपटलमा उब्जेका यि लगायत यस्तै प्रकारका धेरै प्रश्नहरु छन तर म निरुत्तर छु। तथापि मैंले अध्यक्ष ज्यू समक्ष राखेका यि प्रश्नहरुलाई अध्यक्ष ज्यूले गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्नु हुनेछ भन्ने विश्वास लिएको छु। 

                           उही तपाईको शुभचिन्तक

                                चिन्तामणि रिजाल

                                    मा.शि. तृतीय,जनता नमुना मा.वि. विराटनगर-२ मोरङ