विद्यार्थी बोकेको बस दुर्घटना : १७ जना घाइतेमध्ये २ जनाको अवस्था गम्भीर

काठमाण्डौं/७ फागुन– रामेछापको मन्थली नगरपालिकाको मच्छेडाँडी गाउँमा स्काउट विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना भएको छ ।
सोही जिल्लाको सालुबाट सदरमुकाम मन्थली आँउदै गरेको बा.५ ख नं. २८५७ यात्रुवाहक बस दुर्घटना भएको हो ।
दुर्घटनामा परी १७ जना विद्यार्थी घाइते भएका छन् भने घाइतेहरु सबैको उद्धार गरी मन्थलीको तामाकोशी सहकारी अस्पतालमा उपचार भई रहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

शुक्रबारदेखि सदरमुकाम मन्थलीमा संचालन हुन लागिरहेको तेश्रो मन्थली नगरपालिकास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा सहभागीता जनाउन सेतीदेवी मावि सालुबाट स्काउट विद्यार्थी खेलाडि बोकेर आएको बस सदरमुकाम मन्थली आउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए ।


श्रेष्ठका अनुसार तीव्र गतिमा मन्थली जाँदै गरेको बस विपरीत दिशाबाट आउँदै गरेको ट्याक्टरलाई साइड दिन खोज्दा भित्तामा ठोकिएर पल्टिएको थियो । बसमा ५३ जना सवार थिए ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान गरिरहेको रामेछाप प्रहरीले जनाएको छ ।