दाङ /७ फागुन – कम नम्बर ल्याएको भन्दै कक्षा कोठा भित्र प्लास्टिकको पाइपले विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ परेका छन् ।
दाङ स्थित राजपुर गाउँपालिका वडा नं. ७ मा रहेको माध्यामिक विद्यालय सिक्टामा गणित र विज्ञान विषय पढाउँने शिक्षक शिक्षक हेमराज बिक पक्राउ परेका हुन् । कक्षा १० को गणित विषयको परीक्षामा एक नम्बर कम ल्याएको भन्दै शिक्षक विकले विद्यार्थीमाथि कुटपिट गरेका थिए ।
शिक्षकको कुटाइपछि विद्यार्थी शर्मिला कुमालले आफू बिरामी परेको बताएकी छिन् । साथै अभिभावकले प्रहरीमा जाहेरी दिएका आधारमा फागुन ३ गते दिउँसो बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पक्राउ परेका शिक्षकलाई दाङ देउखुरी जिल्ला अदालतले फागुन ४ गते दस दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
विद्यालय हाता भित्र वा विद्यालय क्षेत्रमा बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको पाइएमा बालबालिका सम्बन्धी कसुर २०७५ अनुसार एक वर्षसम्म कैद र ५० हजारसम्म आर्थिक जरीवानाको व्यवस्था कानुनमा रहेको छ।



