बेवास्तामा शिक्षक, अहिले सम्म पनि पाउन सकेनन् कोभिड–१९ विरुद्धको खोप


काठमाण्डौं /७ फागुन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय तथा विश्वविद्यालयका शिक्षकहरुका लागि कोरोनाविरुद्धको खोप अहिले सम्म पनि उपलब्ध गराउन सकेको छैन ।

कोभिड–१९ विरुद्धको खोप तथा भ्याक्सिनका लागि शिक्षकहरुलाई पनि विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै नेपाल शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, तथा एन प्याब्सनलगायत विभिन्न संघ–संस्थाले पटक–पटक सरकार समक्ष माग राख्दै आईरहेता पनि शिक्षकहरुलाई अहिले सम्म भ्याक्सिनको खोपको व्यवस्था गरेको छैन ।

शिक्षकहरु विद्यार्थीहरुमाझ गई पढाई सञ्चालन गर्नुपर्ने हुँदा स्वास्थ्यको जोखिम उच्च रहने भएका कारण विभिन्न शैक्षिक संस्थाहरुले सरकारसमक्ष ध्यानाकर्षण पत्र बुझाएका थिए ।

कोभिडको त्रास अझै पनि कायमै रहेको अवस्थामा खोप कार्यक्रमको पहिलो चरण सकेर पनि दोस्रो चरणको प्रारम्भमा सेना, प्रहरी, निजामती कर्मचारीहरु लगायतलाई प्राथमिकतामा पारिएको तर, विद्यालयदेखी विश्वविद्यालयसम्म अध्ययनरत लाखौं लाख बालबालिका विद्यार्थी तथा युवाहरुको दैनिक प्रत्यक्षमा आउने शैक्षिक संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई प्राथमिकतामा नराखेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले प्रेस विज्ञप्ती समेत जारी गरेको थियो ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले विद्यालयहरुमा कार्यरत सबै शिक्षक तथा कर्मचारी लगायत सबै शिक्षक समुदायलाई प्राथमिकतामा पारी खोप कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाए पनि दोस्रो चरणमा समेत शिक्षकहरुलाई समावेश नगरिएकाले बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्नुपर्ने भन्दै अबको खोप कार्यक्रममा शिक्षकहरुलाई पनि फ्रन्टलाईनका रुपमा लिई समावेश गर्न नेपाल सरकार तथा सम्बन्धित निकायहरुसँग आग्रह गरेका छन् ।

शिक्षकहरुलाई कारोनाविरुद्ध खोप दिने विषयमा सरकारबाट अहिलेसम्म पनि कुनै पहल नगरिएको एन–प्याब्सनका अध्यक्ष क्रृतुराज सापकोटाले बताए । उनले भने, “सरकारले फ्रन्टलाईनमा काम गर्न भनेर जुन क्षेत्र तोकिएको छ, त्यसअनुरुप शिक्षकहरु पनि फ्रन्टलाईन अन्तर्गत् काम गर्ने व्यक्ति हो कि होईन भन्ने कुरा स्पष्ट रुपमा सरकारले परिभाषित गर्नुपर्ने जरुरी देखिन्छ । जस्तै बैंकको कर्मचारीहरुको भैतिक सम्पर्क बढी हुन्छ कि कयौं विद्यार्थीहरुलाई पढाउने शिक्षकहरुको भौतिक सम्पर्क बढी हुन्छ । तसर्थ, अहिलेको अवस्थामा शिक्षकलाई मात्र नभई विद्यार्थीलगायत सामाजिक सम्पर्कमा आउने सबैलाई उत्तीकै जोखिम रहने भएका कारणले सरकारले भ्याक्सिन उपलब्ध गर्नुपर्छ ।”

त्यसैगरी, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले भौतिक रुपमा नै उपस्थिति जनाई अध्यापन गर्नुपर्ने हुनाले प्राथमिकताको आधारमा सरकारले शिक्षकलाई पहिल्यै नै अग्रपङ्तिमा राख्नुपर्ने धारणा व्यक्त गरे ।

कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरेको थियो । तर, खोप कार्यक्रमको पहिलो र दोस्रो चरणमा समेत शिक्षकहरुलाई समावेश नगरिएकोमा नेपाल शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, तथा एन प्याब्सनलगायत संघ–संस्थाले चिन्ता जनाएका छन ।