बलात्कारपछि हत्या गरिएकी छात्राको हत्यारालाई कारवाही गर्न विद्यार्थी संगठनको माग

काठमाण्डौं/२५ माघ– नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी सनातन धर्म उच्च माविकी छात्राको हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले शनिबार एक विज्ञप्ति जारी गर्दै बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेविसंघ स्तब्ध भएको दुःख व्यक्त गर्दै हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।
विज्ञप्तीमार्फत् उनले विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु दुःखद कुरा हो भन्दै चिन्ता प्रकट गरेका छन् ।
बुधबार सनातन धर्म उच्चमाविमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय भागरथी स्कुलबाट फर्कने क्रममा हराएकी थिइन् । बिहीबार उनी पढ्ने विद्यालयबाट करिब ३ किलोमिटरको दूरीमा विभत्स अवस्थामा उनको शव भेटिएको थियो ।
उनको हत्यामा संलग्न आरोपीहरु अहिलेसम्म पक्राउ परेका छैनन् । प्रहरी स्रोतका अनुसार भागीरथीको हत्या अढाइ वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको झल्को दिने घटना भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर घटनास्थलको अध्ययन गरिरहेको जनाएको छ ।
भागीरथीको शव शनिबार जिल्ला अस्पताल बैतडीमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम गर्दा ती किशोरीको बलात्कारपछि हत्या गरिएको अस्पतालले जनाएको छ ।