स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्र क्रमशः फागुन र वैशाखमा सुरु हुने

काठमाण्डौं/२५ माघ– कोरोना महामारीका कारण स्थगित भएको स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सञ्चालन हुने भएको छ ।
विश्वविद्यालयका विभिन्न संकायका डिनहरूको माघको पहिलो साता बसेको संयुक्त बैठकको निर्णयअनुसार नयाँ शैक्षिक सत्र सार्वजनिक गर्दै विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेकोे हो ।


कोभिड सन्त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको भन्दै विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुसालले यस वर्ष शैक्षिक सत्र तीन महिना पछि सार्नु परेको बताए । सोहीअनुसार विश्वविद्यालयले शैक्षिक क्यालेन्डर समेत सार्वजनिक गरिसकेको उनले बताए ।
यसअघि त्रिवि नियममा स्नातक तहको नयाँ शैक्षिक सत्र मंसिरदेखि सुरु हुने उल्लेख छ । तर, कोभिडका कारण त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन ।


उनले भने, ‘२०७६ चैत–वैशाखमा हुनुपर्ने परीक्षाहरू बल्ल सुरु भएका छन् । स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा अहिले सञ्चालन भइरहेका छन्,।’
शिक्षाध्यक्ष भुसालका अनुसार अब त्रिविका संस्थान र संकायहरूले फागुनलाई नै आधार मानेर नयाँ भर्ना खुलाइने छन् । फागुन २५ गतेदेखि स्नातकको कक्षा सुरु हुनुका साथै स्नातकोत्तर तहको कक्षा वैशाखमा सुरु हुने भएकाले भर्नादेखि प्रवेश परीक्षाको काम चैत भित्र नै सक्नुपर्ने उनले जानकारी दिए ।

कोभिडका कारण विश्वविद्यालयका कक्षाहरू १० महिनादेखि बन्द रहे भने परीक्षाहरू अझै सम्पन्न भएको छैन ।