‘विद्यालय खाजा कार्यक्रम’ सञ्चालन गर्न महानगरपालिकाद्वारा अर्को परिपत्र जारी

काठमाण्डौं/२१ माघ–‘विद्यालय दिवा खाजा कार्यक्रम’ सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले यस अघिको त्रुटि सच्याउँदै विद्यालयहरुलाई नयाँ परिपत्र जारी गरेको छ ।


गत शुक्रबार महानगरको शिक्षा शाखाले जारी गरेको परिपत्रमा कक्षा १ देखि ५ तह सम्मका बालबालिकाहरुलाई मात्रै दिवा खाजा कार्यक्रममा सहभागी गराउन भनिएको थियो । तर सामुदायिक विद्यालयमा दिवा खाजाको मापदण्डमा उल्लेख प्रारम्भिक बालविकासको वर्ग छुटाएकोमा आलोचना भएपछि महानगरले विद्यालयहरुलाई अर्को परिपत्र जारी गरेको हो ।


परिपत्रमा छुटाईएको प्रारम्भिक बालबिकासको वर्ग समेत समेतेर दिवा खाजा कार्यक्रम सञ्चालन गर्न महानगरले निर्देशन दिएको छ । परिपत्रानुसार प्रति विद्यार्थी १५ रुपैंयाका दरले सन्तुलित खाजा खुवाउनु पर्ने छ । कस्तो खाजा खुवाउने भन्ने विषयको मापदण्डमा उल्लेख गरिएको छ ।


बालबालिकाको स्वास्थ्य र पोषण स्थितिमा सुधार गरी विद्यालय भर्ना, निरन्तरता र सिकाइ स्तर सुधार गर्ने उद्देश्यका साथ सरकारले विद्यालय दिवा खाजा कार्यक्रमको सुरुवात गरेको हो । बालबालिकालाई चाहिने पौष्टिक तत्व सहित गुणस्तरीय शिक्षण सिकाइका लागि अनुकुल वातावरण सिर्जना गर्न प्राथमिक तहमा दिवा खाजा कार्यक्रम प्रभावकारी हुने भन्दैे उक्त कार्यक्रम सञ्चालन गरेको हो ।


आधारभूत तहका बालबालिकाको स्वास्थ्य स्थितिमा सुधार गरी शैक्षिक स्तर अभिवृद्धि गर्ने दीर्घकालिन लक्ष्य लिई खाजा कार्यक्रम थालनी गरेको छ । खाजामा कम्तिमा ३० प्रतिशत पोषण परिपूरण हुनुपर्ने छ । यस्तै, शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ स्तर सुधार गरी गुणस्तरीय आधारभूत शिक्षामा समतामूलक पहुँच बढाउँदै खाजामा स्थानीय कृषि उपजको उपभोग बढाएर विद्यालय र कृषि उत्पादनबीच सम्बन्ध स्थापित गरी कृषि प्रतिफल बढाउने र स्थानीय आर्थिक बजार विस्तार गर्ने पनि कार्यक्रमको उद्धेश्य रहेको छ ।

बालबालिकाको सिकाइ र पोषण प्राप्तिका हिसावले पनि सहयोगी भएपछि उक्त कार्यक्रमलाई शिक्षा मन्त्रालय अन्र्तगत शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाका नामबाट कार्यान्वयन भईरहेको छ । अहिले कार्यान्वयनमा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्र्तगत यो अभियान जारी छ ।