बैतडी/२६ पुस – बैतडी स्थित पाटन नगरपालिकाले यस वर्ष देखि विद्यालय तथा शिक्षक समायोजनको प्रक्रिया सुरु गरेको छ ।
नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका विद्यालय अन्य विद्यालयमा समायोजन गर्न लागेको हो । यसका लागि क्षेत्रभित्रका विद्यालयको दरबन्दी मिलान र विद्यालय समायोजनको प्रक्रियाको थालनी गरेको छ ।
सो क्षेत्रको वडा नं १० को सिगास आधारभुत विद्यालय, सरस्वती माविमा तहगत समायोजन गरिएको छ । यसैगरी नगरपालिकाका अन्य ६ वटा विद्यालय समायोजनको सूचीमा राखिएको छ । वडा नं. १ को गणेश आधारभुत विद्यालय गेरडा, वडा नं. ७ को चतुर्चजु आधारभतु विद्यालय, वडा नं ३ को सरस्वती आधारभुत विद्यालय कल्तडी, वडा नं. ३ सुकाबैना आधारभुत विद्यालय सुकाबैना तहगत समयोजनको सूचीमा राखीएको छ ।
वडा नं ७ को भगवती आधारभुत विद्यालय दमकट्टे र वडा नं ४ नागार्जुन आभारभुत विद्यालय खोल्सी पूरै समायोजनको सूचीमा परेका छन् । विद्यालय समायोजन प्रोटोकल अनुसार पूरै समायोजनको सूचिमा परेकोे नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले बताए ।
यसका साथै तीन वटा विद्यालयका शिक्षकहरुलाई पनि समायोजन गरिएको छ । आउँदो शैक्षिकसत्रमा समायोजन प्रक्रियाले पुर्णता पाउने शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए । विद्यार्थीलाई विद्यालय जाँदा लाग्ने समय तथा शिक्षक विद्यार्थी अनुपातलाई आधार मानी विद्यालय समायोजन तथा दरबन्दी मिलान गरिएको उनले बताए । समायोजन कार्यविधिअनुसार एक कक्षामा १५ जना अनिवार्य गरिएको छ ।



