पोखरा /२६ पुस – पोखरा विश्वविद्यालयको २५ गते बसेको प्राज्ञिक परिषद्को बैठकले स्नातक तह व्यवस्थापन संकाय अन्तर्गत भर्नाको मापदण्ड परिवर्तन गरेको छ ।
बैठकले स्नातक तह व्यवस्थापन संकाय अन्तर्गत बिबिए, बिएचएम, बिटिटिएम लगायतका विषयमा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि ग्रेडिङ अनुसार भर्ना हुनुपर्ने भन्दै मापदण्ड तोकेको व्यवस्थापन संकायका डिन हरी खड्काले बताए ।
कक्षा ११ र १२ का विषयमा न्यूनतम ‘सी’ ग्रेड हुनुपर्ने प्रावधानलाई पोखरा विश्वविद्यालयले परिमार्जन गरेर ग्रेड सिष्टमको हकमा जिपिए १.८ हुनुपर्ने वा हरेक विषयमा न्यूनतम ग्रेड ‘डि’ प्लस हुनुपर्ने त्यसैगरि, नम्बर सिष्टममा ४५ प्रतिशत अर्थात् सेकेण्ड डिभिजन हुनुपर्ने प्रावधान राखेको छ ।


