हेटौँडा/७ मंसिर – बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका सामुदायिक क्याम्पसहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अनुदान उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय, हेटौँडाले सूचना जारी गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो ।
स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सामुदायिक क्याम्पसहरूलाई अनुदान उपलब्ध गराउन लागिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ । अनुदान प्राप्त गर्न इच्छुक क्याम्पसहरूले सामुदायिक क्याम्पस शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३ को दफा ४ बमोजिमका शर्तहरू पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यविधिको अनुसूची–२ बमोजिमको ढाँचामा प्रस्ताव तयार गरी आवश्यक कागजातसहित शिक्षा विकास निर्देशनालयमा पेस गर्न निर्देशनालयले आग्रह गरेको छ ।
कार्यक्रमसम्बन्धी विस्तृत विवरण, आवश्यक कागजात तथा प्रस्ताव पेस गर्ने प्रक्रिया शिक्षा विकास निर्देशनालयको आधिकारिक वेबसाइट edd.bagamati.gov.np मा उपलब्ध रहेको छ ।



