शिक्षामा रूपान्तरणका लागी ईसीईसीको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ललितपुर/२९ कार्तिक – शिक्षामा नवीन सोच, अनुसन्धान, नवप्रवर्तन तथा व्यावहारिक अभ्यासलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित शिक्षामा नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ललितपुरको झम्सिखेलस्थित द ब्रिटिस स्कुलमा सम्पन्न भएको छ ।


ईसीईसी इनोभेसन इन एजुकेसनद्वारा संस्थाको २५औँ वार्षिकोत्सव अर्थात् रजत जयन्तीको अवसरमा आयोजित सम्मेलनमा नेपालसहित विभिन्न देशका शिक्षाविद्, अनुसन्धानकर्ता, शिक्षक, शिक्षाकर्मी तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सम्मेलनमा करिब ४०० शैक्षिक संस्थाका प्रतिनिधि तथा विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय अतिथिहरू सहभागी भएका थिए ।


सम्मेलनमा २१ वटा अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो भने शिक्षा क्षेत्रका विविध विषयमा १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशाला सञ्चालन गरिएका थिए । ती सत्रहरूमा प्रारम्भिक बालविकास तथा शिक्षा, एकीकृत पाठ्यक्रम, शिक्षकको व्यावसायिक विकास, समावेशी शिक्षा, मूल्यमा आधारित शिक्षा, शैक्षिक नेतृत्व, स्थानीय भाषा शिक्षण, बालमैत्री शिक्षण पद्धति, मूल्याङ्कन, कृत्रिम बुद्धिमत्ताको शैक्षिक प्रयोग, अभिभावक सहभागिता तथा शैक्षिक नवप्रवर्तनलगायतका विषयमा गहन छलफल र अनुभव आदानप्रदान भएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा प्राध्यापक डा.बालचन्द्र लुइटेलले मुख्य वक्ताका रूपमा आफ्नो प्रस्तुति दिएका थिए । त्यसैगरी नेदरल्यान्ड्सका प्राध्यापकद्वय डा. ब्राम डे म्युइन्क र डा. ब्राम कुन्जले पनि आफ्ना विचार प्रस्तुत गरे उनिहरूले शिक्षाको बदलिँदो परिवेश, शैक्षिक नवप्रवर्तन तथा शिक्षण अभ्यासलाई थप प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा राख्नुभएका थिए ।


कार्यक्रमको विशेष अवसरमा ईसीईसीकी संस्थापक निर्देशक रेनी डे विटलाई सम्मान गरिएको थियो । संस्थाको २५ वर्षे शैक्षिक यात्रामा उनले पु¥याएको योगदान र नेतृत्वको कदर गर्दै सम्मान गरिएको हो ।


अनुसन्धानपत्र प्रस्तुति तथा कार्यशालामा सहभागीहरूले नेपाली विद्यालय शिक्षाको वर्तमान अवस्था, पाठ्यक्रम कार्यान्वयनका चुनौती, शिक्षकका अनुभव, बालबालिकाको सिकाइ वातावरण तथा स्थानीय ज्ञान र भाषाको शैक्षिक महत्त्वबारे आफ्ना अनुसन्धान र अनुभव प्रस्तुत गरेका थिए ।


विशेषगरी प्रारम्भिक बालविकास तथा शिक्षालाई विद्यालयकेन्द्रित औपचारिक संरचनामा मात्र सीमित नराखी बालबालिकाको समग्र विकास, अनुभव र आवश्यकतासँग जोडेर हेर्नुपर्ने विषयले विशेष महत्त्व पाएको थियो ।


विभिन्न समानान्तर कार्यशालामार्फत शिक्षण प्रक्रियालाई सिर्जनात्मक, अनुभवमा आधारित, अनुसन्धानमुखी र बालकेन्द्रित बनाउने उपायबारे व्यावहारिक अभ्यास तथा विचार आदानप्रदान गरिएको थियो । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता र शिक्षकहरूबिच भएको संवादले शिक्षा क्षेत्रमा ज्ञान, अनुभव र असल अभ्यास आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको थियो ।

सम्मेलनले शिक्षा क्षेत्रमा विद्यमान चुनौतीहरूको पहिचान गर्नुका साथै अनुसन्धानबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्ने र शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नवीन अभ्यास विकास गर्ने आवश्यकतामा जोड दिएको छ ।


ईसीईसी इनोभेसन इन एजुकेसनले विगत २५ वर्षदेखि शिक्षा क्षेत्रमा शिक्षकको क्षमता विकास, प्रारम्भिक बालविकास, पाठ्यक्रम तथा शिक्षण पद्धतिमा नवीनता र अनुसन्धानका क्षेत्रमा योगदान पु¥याउँदै आएको छ । संस्थाको रजत जयन्तीका अवसरमा आयोजित यस अन्तर्राष्ट्रिय सम्मेलनले आगामी दिनमा शिक्षामा अनुसन्धान, नवप्रवर्तन र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।