देउसी–भैलोबाट उठेको १७ लाख विद्यालयको डिजिटलाइजेसनमा खर्चिँदै

काठमाडौं/२५ कार्तिक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालयले देउसी–भैलोबाट संकलित १७ लाख २१ हजार रुपैयाँ विद्यालयको डिजिटलाइजेसनमा खर्च गर्ने भएको छ ।


विद्यालयका अनुसार अभियानबाट १० लाख ८१ हजार रुपैयाँ नगद र ६ लाख ४० हजार रुपैयाँ बराबरका स्मार्ट बोर्ड सामग्री सहयोग प्राप्त भएको छ । थप सहयोगसमेत जुट्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।


विद्यालयका २४ वटै कक्षाकोठालाई क्रमशः स्मार्ट कक्षाकोठामा रूपान्तरण गर्ने लक्ष्यसहित पहिलो चरणमा चालु आर्थिक वर्षभित्र १० वटा स्मार्ट बोर्ड जडान गरिनेछ ।


चारवटा विद्यालय गाभिएर बनेको थाङपाल भ्यालीमा हाल कम्प्युटर, विज्ञान तथा गणित प्रयोगशाला, पुस्तकालय र अन्य शैक्षिक सुविधा उपलब्ध छन् । ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले अभियान अघि बढाइएको विद्यालयले जनाएको छ ।