काठमाडौँ /८ असोज – अविरल वर्षा, बाढी तथा डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिका र इलामको सूर्योदय नगरपालिकाले विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेका छन् ।
बुटवल उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार २०८३ असोज ८ गते दिवा सत्रका कक्षा मात्र बन्द रहनेछन् भने असोज ९ गते बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द गर्ने निर्णय गरेको छ ।
यसैगरी, सूर्योदय नगरपालिका, इलामले हावाहुरीसहित वर्षा भइरहेको तथा ग्रामीण क्षेत्रमा कच्ची सडक, खोला–नदी र भिरको बाटो हुँदै विद्यालय आवतजावत गर्दा विद्यार्थी, शिक्षक तथा कर्मचारी जोखिममा पर्न सक्ने भन्दै असोज ८ र ९ गते विद्यालय बिदा गर्न सम्बन्धित विद्यालयहरूलाई अनुरोध गरेको छ । उक्त बिदा हिउँदे, वर्षे वा स्थानीय बिदाबाट मिलान गर्न भनिएको छ ।
दुवै स्थानीय तहले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई सुरक्षित राख्न, खोला–नदी किनार तथा जोखिमपूर्ण क्षेत्रमा जान नदिन र विपद्को समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।



