काठमाडौँ /७ असोज – जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै शिक्षा मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ ।
साथै शिक्षा विकास तथा समन्वय एकाइमार्फत सबै शिक्षण संस्था, स्थानीय तह, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई आवश्यक पूर्वतयारी र समन्वय गर्न समेत अनुरोध गरेको हो ।
मन्त्रालयद्धारा जारी सूचना अनुसार असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न सकिनेछ । त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ देखि ११ गतेसम्मका निर्धारित परीक्षा आवश्यकताअनुसार स्थगित गर्न भनिएको छ ।
सम्भावित बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत र सञ्चार सेवामा आउन सक्ने अवरोधलाई ध्यान दिँदै सुरक्षित विद्यालय भवनलाई आवश्यक परे अस्थायी आश्रयस्थलका रूपमा प्रयोगका लागी स्थानीय तहलाई सहजीकरण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
त्यसैगरी, बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन भनिएको छ । विपद्को सम्भावित जोखिमलाई त्रासका रूपमा नभई पूर्वतयारी र सावधानीका साथ सामना गर्न सबै पक्षसँग मन्त्रालयको आग्रह छ ।



