आज गुरु पूर्णिमा : जीवनपथका मार्गदर्शकलाई सम्मान प्रकट गर्ने दिन

काठमाडौँ/१३ साउन – आसार शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँन्छ ।


‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।


अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । कुनै न कुनै व्यक्तिले हामीलाई केही न केही कुरा सिकाएका हुन्छन् । आज ज्ञान दिने र जीवनको बाटो देखाउने यस्ता गुरुलाई सम्मान गर्ने तथा सम्झिने दिन पनि हो । साथै हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत गुरुलाई मानेको छ ।


आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी मनाउने दिन पनि हो । आफुहरुलाई शिक्षा लिने गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज देशभर गुरु पूर्णिमा मनाउने गरिन्छ ।


साना साना हातमा कलम राखेर कखरा पढाउने र सिकाउने शिक्षकहरू, विश्वविद्यालयमा पढाउनेदेखि हरेक तरिकाबाट शिक्षा दिने, अँध्यारोबाट उज्यालोतिर लैजाने मार्ग दर्शक सबै सबैमा आज सम्मान प्रकट गरिन्छ ।


गुरुमार्फत प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार व्यक्त गर्दै ज्ञानको पथमा सधैँ अघि बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो । आज सम्पूर्ण विद्यार्थीहरूले आफ्नो जीवनमा सत्कर्मको बाटो देखाउने सम्पूर्ण शिक्षकहरूप्रति श्रद्धा र सम्मान गर्ने दिन ।


‘गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः’


अर्थात्,
‘गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात् परब्रह्म । यस्ता गुरुलाई म नमस्कार गर्दछु ।’
गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरु तत्वाले आवाज निकाल्छ, त्यसो नगर, त्यो गलत हो भन्ने आवाज सुनेपछि हामी कतिले पाइला रोक्छौँ, त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौँ । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरु तत्वा रहेको छ ।


सत्यलाई आत्मसात् गर्नसके गुरु तत्वा सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केही न केही सिकाएरै जान्छ । तसर्थ, हरेक पाठलाई आत्मसात् गर्न सके गुरु पूर्णिमाको र गुरु तत्वाको सही उपयोग हुनेछ । आफूलाई पढाउने सर, मिस, दाई, दिदी लगायत आफूलाई हरेक समयमा विभिन्न तरीकाबाट शिक्षा दिने सबैलाई एक फेरी नमन गरौँ । सम्झना गरौँ । असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला गुरु पूर्णिमाको सबैमा शुभकामना ।