हप्ताको तीन दिन मात्रै किताब पढाउन हर्क साम्पाङको सरकारलाई सुझाब

काठमाडौँ /८ बैशाख – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले हप्ताको तीन दिन किताब र बाँकी चार दिन श्रम सिप सिर्जना सिकाएर निर्माण र उत्पादन, सिर्जना र आविष्कारमा देशलाई अगाडी बढाउनु पर्ने । सुझावसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।


मंगलबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमार्फत अध्यक्ष साम्पाङले ३३ बुँदे सुझावसहितको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा परिवर्तनको खाका प्रस्तुत गरेका हुन् ।


उनले बुँदा नं. ५ मा भनेका छन् “श्रम, श्रमदान, उत्पादन, निर्माण, आविष्कार, अन्वेषण नै शिक्षा हो भन्ने मूल मान्यता स्थापना गर्दै शिक्षामा तात्विक परिवर्तन ल्याउने । उत्पादन गर्न नसक्ने शिक्षा, निर्माण गर्न नजान्ने शिक्षा र आविष्कार गर्न नचाहाने शिक्षाले जीवनमा सकारात्मक परिवर्तन ल्याउन नसक्ने हुँदा किताब घोकाउने शिक्षाको अन्त्य गरेर सैद्धान्तिक शिक्षालाई सीमित गरेर व्यवहारिक शिक्षामा जोड दिन हप्ताको तीन दिन किताब र बाँकीका चार दिन श्रम सिप सिर्जना सिकाएर निर्माण र उत्पादन, सिर्जना र आविष्कारमा देशलाई अगाडी बढाउने ।”