काठमाडौँ /२० फागुन – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षाको परीक्षा केन्द्र कायम गरिएको जनाएको छ ।
माघ ६ गते प्रकाशित परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना अनुसार परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरूका परीक्षार्थीहरुका लागि केन्द्र कायम गरेको हो ।
डिप्लोमा इन इन्जिनियरिङ तर्फका सम्पूर्ण कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वक्र्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट, ब्युटी एन्ड कस्मेटोलोजी, फेसन डिजाइन र कृषि ( बाली विज्ञान र पशु विज्ञान) प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको नियमित÷आंशिक परीक्षाहरू सञ्चालन गर्न केन्द्र कायम गरेको परिषद्ले जनाएको छ ।
साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत २०८१ मा भर्ना भएका परीक्षार्थीहरुको समेत माघ २३ गते प्रकाशित परीक्षा तालिका बमोजिम परीक्षा सञ्चालन हुनेछ ।
तालिका अनुसार सम्पूर्ण सैद्धान्तिक परीक्षाहरू फागुन २९ गते बिहान ७ः०० बजेदेखि सञ्चालन हुने गरी सम्बन्धित परिषद्, प्रदेश कार्यालयको सिफारिसमा परीक्षा केन्द्रहरू कायम गरिएको छ ।



