रूपन्देहीलाई शैक्षिक केन्द्र बनाउने विष्णुप्रसाद पौडेलको प्रतिबद्धता

रूपन्देही/१३ फागुन – नेकपा एमालेका नेता तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही–२ का उम्मेदवारसमेत रहेका विष्णुप्रसाद पौडेलले रूपन्देहीलाई विद्यालय शिक्षा र उच्च शिक्षाको केन्द्र बनाउने प्रतिबद्धता जनाएका छन् ।


विद्यालय शिक्षा र उच्च शिक्षाका लागि अन्यत्र जान नपर्ने गरी गुणस्तरीय र विश्वसनीय शिक्षाको केन्द्र बनाउन प्रतिबद्ध रहेको जनाएका हुन् ।


पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रीत गरेर शिक्षा क्षेत्र सुधारका लागि १० बुँदे प्रतिबद्धता अगाडी सारेका छन् । यस क्षेत्रमा सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयका लागि शैक्षिक भवन, छात्रावास, खेल मैदान र सूचना प्रविधि एवम् विज्ञान प्रयोगशाला लगायतका भौतिक पूर्वाधार निर्माण गर्ने, विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक, कर्मचारीको दरबन्दी व्यवस्थापन गर्ने, संस्थागत विद्यालयको लगानी सुरक्षित गर्न, थप लगानी आकर्षित गर्न र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नीतिगत एवम् कानुनी आधार तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


यसैगरी लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी स्वदेशी र विदेशी विद्यार्थीहरूका लागि आकर्षक शिक्षण संस्थामा विकसित गर्ने, यस क्षेत्रमा आउन चाहेको नेपाल विश्वविद्यालयलाई आवश्यक सहयोग र सहजीकरण गर्ने र लुम्बिनी वाणिज्य क्याम्पसलाई व्यवस्थापन र सूचना प्रविधि विषयको मानित विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रतिबद्धतामा उल्लेख छ ।


हेर्नुहोस प्रतिबद्धता


१) लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी स्वदेशी र विदेशी विद्यार्थीहरूका लागि आकर्षक शिक्षण संस्थामा विकसित गर्ने ।


२) यस क्षेत्रमा आउन चाहेको नेपाल विश्वविद्यालयलाई आवश्यक सहयोग र सहजीकरण गर्ने ।


३) लुम्बिनी वाणिज्य क्याम्पसलाई व्यवस्थापन र सूचना प्रविधि विषयको मानित विश्वविद्यालयमा रूपान्तरण गर्ने ।


४) तिलोत्तमा– १ मा बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गरी सञ्चालनमा ल्याउने ।


५) बुटवल बहुमुखी क्याम्पसमा गुरुयोजनाबमोजिम शैक्षिक भवन र छात्रावास भवन निर्माण गर्ने । यसलाई त्रिभुवन विश्वविद्यालयको प्रदेशकै नेतृत्वदायी क्याम्पसमा विकास गर्ने ।


६) बुटवल कालिका, सिद्धार्थ गौतम बुद्ध, राममणि, पर्रोहा, सरस्वती संस्कृत विद्यापीठ, सिटी कलेज र शङ्करनगर सामुदायिक क्याम्पसहरूको शैक्षिक भवन तथा छात्रावास निर्माण र प्रविधिमा आधारित सिकाइ प्रणालीका लागि स्रोत व्यवस्थापन गर्ने ।


७) निर्वाचन क्षेत्रभित्र कृषि क्याम्पस र इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने ।


८) कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयलाई पश्चिम नेपालकै उत्कृष्ट प्राविधिक शिक्षालयमा स्तरोन्नति गर्ने । बुटवल टेक्निकल इन्स्टिच्युटको पूर्वाधार र व्यवस्थापन सुधार गरी प्रभावकारी रूपमा सञ्चालन गर्ने ।


९) गुरुकुल र मदरसा शिक्षालाई आआफ्नो परम्परा एवम् संस्कृतिको रक्षा र विकाससँग जोड्नुका साथै व्यावहारिक र जीवनोपयोगी बनाउने ।


१०) यस क्षेत्रमा सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयका लागि शैक्षिक भवन, छात्रावास, खेल मैदान र सूचना प्रविधि एवम् विज्ञान प्रयोगशालालगायतका भौतिक पूर्वाधार निर्माण गर्ने । विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक, कर्मचारीको दरबन्दी व्यवस्थापन गर्ने । संस्थागत विद्यालयको लगानी सुरक्षित गर्न, थप लगानी आकर्षित गर्न र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नीतिगत एवम् कानुनी आधार तयार गर्ने ।