रास्वपाको ट्रेड युनियन खारेजी गर्ने बचापत्रमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन आपत्ति

काठमाडौँ /११ फागुन – रास्वपाले ट्रेड युनियन खारेजी गर्ने बचापत्रमा समावेश गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन आपत्ति जनाएको छ । संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा आबद्ध हुने तथा सामूहिक सौदाबाजी गर्ने मौलिक अधिकार प्रदान गरेको भन्दै आपत्ति जनाएको हो ।


सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ “२०८२ फागुन २१ गते सम्पन्न हुने निर्वाचनका सन्दर्भमा २०८२ फागुन ७ गते रास्वपाले सार्वजनिक गरेको चुनावी बाचापत्र (घोषणा–पत्र)मा ट्रेड युनियन खारेजी गर्ने गरी समावेश गरिएको बचापत्रप्रती नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, राष्ट्रिय समितिको गम्भीर ध्यान आकर्षित भएको छ ।”


ट्रेड युनियनहरू स्वतन्त्र, पेसागत र गैर–दलीय प्रकृतिका संस्थाहरू रहेको र तिनीहरूको उद्देश्य श्रमिक तथा पेसाकर्मीहरूको हक–हित संरक्षण गर्नु रहेको सङ्गठनको भनाई छ ।


यसैगरी ट्रेड युनियन खारेजी वा त्यसको स्वतन्त्रतामाथि अङ्कुश लगाउने परिकल्पना गर्ने कुनै पनि राजनीतिक दल प्रजातान्त्रिक नहुने हर गरेको छ ।


“यो नेपालको संविधान, कानुन तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय महासन्धि विपरीतको कार्य समेत हो । यो परिकल्पना गर्ने दलको राजनैतिक चरित्र लोकतान्त्रिक हो भनि मान्न सकिदैन” विज्ञप्तिमा भनिएको छ ।


ट्रेड युनियन खोल्ने र सामूहिक सौदाबाजी गर्ने अधिकार संविधानद्वारा प्रदत्त मौलिक अधिकार माथि नियन्त्रण, गरी खारेजी गर्ने गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक व्यवस्था तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डविरुद्धका कदम रहेको जनाएको छ ।


साथै यस्ता अतिरञ्जित, त्रास सिर्जना गर्ने तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय मान्यता विपरीतका धारणाको खुलेर विरोध गर्न र संवैधानिक अधिकारको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण सचेत शिक्षक तथा पेसाकर्मीलाई आग्रह गरिएको छ ।