काठमाडौँ/८ फागुन – कागेश्वरी मनोहरा नगरपालिकाको तीनपिपल, थलीस्थित कान्तिपुर एकेडेमीले शुक्रवार आयोजना गरेको कान्तिपुर एकेडेमी इन्जिनियरिङ एक्स्पो २०८२ मा विद्यार्थीहरूले निर्माण गरेका नमुना परियोजनाहरूको प्रदर्शनी गरेका छन् ।
प्रदर्शनीमा विद्यार्थीहरूले रोबोट प्रविधि, वातावरण संरक्षण, ऊर्जा स्रोतहरूको उपयोग र आधुनिक घर निर्माण प्रविधिसँगै आधुनिक शहरका नमुना परियोजना प्रदर्शन गरेका थिए ।

विद्यालयले विद्यार्थीको नवीनता, रचनात्मकता, सहकार्य र सिर्जना तथा व्यावहारिक शिक्षाको प्रोत्साहन गर्न एक्स्पोको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल प्रधुन्न पौडेले बताए ।
विद्यार्थीहरूको रचनात्मकता र वैज्ञानिक दृष्टिकोणको प्रशंसा गर्दै विद्यार्थीहरूले प्रस्तुत गरेका परियोजनाहरूले उनीहरूमा लुकेको नवप्रवर्तनशील सोच र आविष्कार गर्ने क्षमता प्रस्ट रूपमा देखाएको उनको भनाई छ । पौडेलले विद्यार्थीलाई साधारण धारसँगै विभिन्न विषयमा कक्षा १२ सम्म प्राविधिक शिक्षा दिने उदेश्यले कागेश्वरी मनोहरा नगरपालिकाको नेतृत्व र लगानीमा छुट्टै नमुना विद्यालय निर्माण गरिएको प्रस्ट पारे ।

प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना परियोजनाहरूको कार्यविधि, प्रयोग र व्यवहारिक प्रभावबारे विस्तृत व्याख्या गरेका थिए । साथै विद्यार्थीहरूको वैज्ञानिक र सिर्जनात्मक क्षमतालाई उजागर गर्दै, उनीहरूलाई भविष्यमा विज्ञान र प्रविधि क्षेत्रमा अघि बढ्न प्रेरणा दिएको विद्यालयले जनाएको छ । प्रदर्शनीमा कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो ।




