विद्यालय कर्मचारी परिषद्को जागरण अभियान

काठमाडौँ /६ माघ – नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले पहिलो पटक जागरण अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेश स्तरीय भेला सम्पन्न गरेको छ । समितिले नेतृत्व क्षमता अभिवृद्धि तथा साङ्गठनिक सुदृढीकरणका कार्यक्रम सहित अभियान सम्पन्न गरेको हो ।


अभियानमा हालसम्म सरकारसँग गरिएका सहमतिहरू कार्यान्वयन नहुँदा तथा सेवा सुविधा स्थानीय सरकारले उपलब्ध नगराउँदा विद्यालय कर्मचारीहरूलाई समस्या भएको विषयमा समेत छलफल गरिएको थियो ।


साथै स्थानीय तहमा कर्मचारीहरूका माग तथा समस्या समाधानका लागि स्थानीय तहको कमिटीलाई सुदृढीकरण गरी समन्वय गर्नुपर्ने निर्णय भएको परिषद्का महासचिव शान्ति नाथ योगीले जानकारी दिए । उनले सुदूरपश्चिम प्रदेश अन्तर्गतका सम्पूर्ण कमिटी गठन माघ मसान्तसम्म गरिने निर्णय भएको बताए ।


नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका महासचिव रतन बहादुर कार्कीले सम्पूर्ण विद्यालय कर्मचारी संगठन एक भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।


यसैगरी नेतृत्व क्षमता विकास शीर्षकमा अध्यक्ष गंगाराम तिवारी, संगठन सुदृढीकरण शीर्षकमा महासचिव शान्ति नाथ योगी र २०४७ साल देखि २०८२ साल सम्मका सम्पूर्ण गतिविधि, क्षति तथा उपलब्धिलाई वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठले सहभागी सदस्यहरूलाई प्रस्ट पारेका थिए ।


उत्त कार्यक्रममा प्रदेश कमिटीका अध्यक्ष, जिल्ला अध्यक्ष र ८८ ओटै स्थानीय तह स्तरीय कमिटीका अध्यक्ष तथा संयोजक÷प्रतिनिधिहरूको सहभागीता रहेको थियो । परिषद्ले माघ १० गते लुम्बिनी प्रदेशको घोराही, १७ गते मधेस प्रदेशको मलङगवामा र २४ गते विराटनगरमा अभियानलाई अघि बढाउने निर्णय भएको जनाएको छ ।