काठमाडौँ /५ माघ – प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले विद्यालयको सिकाई पद्धति सुधारका लागि प्रविधि लगायत विविध आवश्यक सुविधासहितको कक्षा कोठा, शौचालय, ल्याब, पुस्तकालय लगायतको व्यवस्थापन हुन आवश्यक रहेको बताएका छन् ।
खबर एजुकेशनले आयोजना गरेको विद्यालय शिक्षा रूपान्तरणमा नीतिगत सवाल सम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै प्याब्सनले आगामी दिनमा रिसर्च, शिक्षण सिकाइमा काम गर्ने तयारी गरिरहेको र सरकारले पनि त्यस विषयमा ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।
३४ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढिरहेको बताउँदै उनिहरूलाई गुणस्तरीय शिक्षा दिने विद्यालयको दायित्व भएकोले अबका दिनमा शिक्षालाई सिपसँग, प्रविधिसँग, जीवनसँग र संस्कारसँग जोड्ने गरी प्याब्सन अगाडी बढिरहेको दाबी गरे ।
यसैगरी परीक्षाका सवालमा बोल्दै कोरामा बसेको विद्यार्थीले पनि परीक्षा हलमा गएर परीक्षा दिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने उनको भनाई छ । यसमा परीक्षा बोर्ड र मन्त्रालय संवेदन बनिदिन आग्रह गरे । बरु विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गर्नुपर्ने उनको सुझाब छ ।
उनले भने “कोरामा बसेको विद्यार्थीले परीक्षा हलमा आएर परीक्षा दिनुपर्ने अवस्था छ । यसमा मानवीयतालाई हरेर सबै संवेदनशील हुन आवश्यक छ । पछि शुल्क तिरेर परीक्षा दिने व्यवस्था हुनुपर्छ । यसमा मानवीयता देखिएन ।”
साथै नायाँ विद्यालय खोल्ने सन्दर्भमा मापदण्ड पुरा नगरेका विद्यालय सञ्चालन गर्न दिन नहुने बताए । पालिकाको शिक्षा शाखामा गएर आवेदन दिएपछि तुरुन्तै विद्यालय खोल्न अनुमति दिने प्रक्रिया ठिक नभएको बताउँदै यस्ता काममा कागजमा मात्रै सीमित नभई व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड् दिए ।
“स्कुल भनेको आज गएर निवेदन दिने, भोलि स्वीकृत पाउने र पर्सि चारकोठाको घरमा स्कुल बन्ने कुरा हुँदैन । त्यसको पुरा मापदण्ड हुनुपर्छ । कक्षाकोठा कति हुनुपर्ने, खेल मैदान कति हुनुपर्ने, पुस्तकालय कस्तो छ, ल्याब कस्तो छ, शिक्षक कति चाहिन्छ, तलब दिन सक्छ की सक्दैन, खानेपानी कस्तो छ, लगायतका विषय हेरेर मात्रै विद्यालय सञ्चालनको अनुमति दिनुपर्छ” उनले भने ।
अधिकारीले यस्ता कुरा नीतिमा मात्रै लेखेर नहुने र त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड् दिँदै ति कुरा विद्यार्थी सँग जोडिएकोले यसरी ख्याल ख्यालमै विद्यालय सञ्चालनको अनुमति दिने हो भने अबको ५० वर्षसम्म पनि विद्यालयमा रूपान्तरण नआउने बताए ।



