२२ लाख खर्च गरेर जापान गएका ५ जना विद्यार्थीलाई ८ महिनामै नेपाल फर्काइदै

काठमाडौँ /१० पुष -अध्ययनका लागि जापान पुगेका नेपाली विद्यार्थी ८ महिनामै नेपाल फर्काइन लागिएको छ । नेपाल बाट २२ लाख खर्च गरेर विद्यार्थी भिसामा जापान गएका ५ जना विद्यार्थीलाई जापान सरकारले नेपाल फिर्ता गराउन लागेको हो ।


उनिहरूले जापान पुगेपछि पनि ६ महिनासम्म काम नपाएको र पछिल्लो २ महिनामा मात्रै काम सुरु गरेकोमा एक महिनाको मात्रै तलब लिएको, अर्को महिनाको तलब लिने बेला अध्ययन गर्ने स्कुलले नेपाल फर्किनुपर्ने जानकारी गराएको विद्यार्थीहरुकोे भनाई छ ।


स्कुलले प्रत्येक तीन महिनामा परीक्षा लिने गरेको र उक्त परीक्षामा विद्यार्थी फेल भएपछि नेपाल पठाउन लागेको जानकारी प्राप्त भएको छ ।


विद्यार्थीहरूले नेपाल फर्किन लागेको कुरा आफूहरूले घरमा पनि नभनेको र भन्न नसकेको भन्दै जापान स्थित विभिन्न व्यक्ति र निकायसँग सहयोगको याचना गरेका छन् । अरू कुनै समस्या भन्दा पनि परीक्षामा फेल भएको भन्दै स्कुलले नेपाल पठाउन लागेको पडित विद्यार्थीले रुदै बताएका छन् ।


पछिल्लो समय जापान अध्ययनमा गएका नेपाली विद्यार्थीहरूको ठुलो सङ्ख्या समस्यामा पर्दै आएका छन्। यस अघि पनि जापान पुगेर २० महिनामा नेपाल फर्काइएका एक जना विद्यार्थीले त्यो सङ्ख्या एक हजार भन्दा बढी रहेको खबर एजुकेशनसँग बताएका थिए ।