काठमाडौँ /२२ माघ – काठमाडौँको हात्तिगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुलले विद्यालय तहमा कला र साहित्यको संस्कार बसाल्दै ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’ को तेस्रो संस्करण भव्यताका साथ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको दुईदिने महोत्सवले विद्यार्थीलाई केवल अक्षर र रङसँग मात्र जोडेको छैन, बरु उनीहरूलाई सिर्जनात्मक सोच, बौद्धिक विमर्श र अभिव्यक्तिको सशक्त मञ्च पनि प्रदान गरेको छ ।
शुक्रवारसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन विशिष्ट अतिथि बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले गरेकी थिइन । कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ साहित्यकार तथा कवि तुलसी दिवसले गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै साहित्यकार तुलसी दिवसले कला र साहित्यले मानव जीवनलाई संवेदनशील, सृजनशील र संस्कारित बनाउने उल्लेख गर्दै नयाँ पुस्तालाई आफ्ना मौलिक सिर्जनासँग जोड्न यस्ता महोत्सवको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए । उनले साहित्यिक सिर्जनशीलतालाई प्राथमिकता दिनु भनेको मानवीय मूल्य र चेतनालाई सम्मान गर्नु हो भन्दै इम्पेरियलले थालेको सिर्जनात्मक अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले विद्यालयको प्रशंसा गर्दै भनिन्, “इम्पेरियल वल्र्ड स्कुलले केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको सिर्जनात्मक क्षमता विकासमा गरेको लगानीले भविष्यमा देशलाई सक्षम र जिम्मेवार जनशक्ति दिने विश्वास जगाएको छ ।”
विद्यालयकी प्रिन्सिपल जुनिता कार्कीले कला र साहित्यको संरक्षण, प्रवर्धन तथा विद्यार्थीहरूमा यसको महत्व उजागर गर्ने उद्देश्यले विगत तीन वर्षदेखि महोत्सव आयोजना गर्दै आएको बताइन । विद्यालयले विद्यार्थीलाई सिर्जनशील सोच र अभिव्यक्तिको अवसर प्रदान गर्ने लक्ष्यका साथ महोत्सवलाई निरन्तरता दिएको उनको भनाई थियो ।
यसैगरी महोत्सवको विशेष आकर्षणका रूपमा इम्पेरियलका विद्यार्थीहरूद्वारा सिर्जित तीन साहित्यिक कृतिहरू— नेपाली कविता सङ्ग्रह ‘शब्द बगैँचा’ , नेपाली कथा सङ्ग्रह ‘उडान कथा’ र अग्रेजी कथा सङ्ग्रह ‘माई पेन माई वर्ल्ड’— को औपचारिक विमोचन गरिएको थियो । यसले विद्यार्थीहरूमा लेखन संस्कारको विकास र आत्मविश्वास अभिवृद्धि गरेको विद्यालयले जनाएको छ ।

महोत्सवको पहिलो दिन साहित्य र कलाका विविध आयामलाई समेट्दै सात वटा फरक सत्र तथा एउटा बृहत् प्यानल छलफल सम्पन्न भएको थियो । ‘साहित्य : पुस्ताबाट पुस्तासम्म बोलिरहने जीवित स्वर’ शीर्षकको प्यानल छलफलले विशेष आकर्षण पाएको थियो । लेखक तथा पत्रकार वसन्त बस्नेतको सहजीकरणमा सम्पन्न उक्त छलफलमा लेखकहरू नयनराज पाण्डे, केशव दाहाल, बिना थिङ तामाङ र कुमारी लामाले साहित्य कसरी पुस्तान्तरण हुँदै समाजलाई जीवित राख्छ भन्ने विषयमा गहिरो विमर्श गरे ।

महोत्सवमा आयोजित विभिन्न सत्रहरूमा कवितादेखि कथा वाचनसम्म सिर्जनात्मक गतिविधिहरू सञ्चालन भएका थिए । साहित्यकार अभय श्रेष्ठ ले ‘काव्य साधना’ मार्फत कविताको गहिराइ प्रस्तुत गरे भने नीलम नीहारिका कार्कीले ‘आवाजको जादु’ शीर्षकमा वाचन कलाको महत्वबारे प्रस्तुति दिएकी थिइन । त्यस्तै, जोय रोबिन्सनले कथा लेखन तथा वाचन सम्बन्धी अनुभव साझा गर्नुका साथै डा. अशोक थापाले ‘पानामा लुकेको संसार’ शीर्षकमा साहित्यको गहिरो आयामबारे प्रस्तुति दिए ।
पहिलो दिनकै कार्यक्रममा डा. शिव रिजाल, महेश पौड्याल, उषा आचार्य र साबित्रा पाण्डेले पनि छुट्टाछुट्टै विषयमा सत्र सञ्चालन गरेका थिए । महोत्सवको दोस्रो दिन शुक्रवार कला र साहित्यका विविध विधामा केन्द्रित १२ वटा अन्तरक्रियात्मक छलफल तथा सिर्जनात्मक सत्रहरू सञ्चालन हुनेछन् ।



