नाट्य क्षेत्रमा प्रवेश गर्नु आफैँमा चुनौतीपूर्ण हुन्छ : समृद्ध राज गौतम

काठमाडौँ /१९ माघ – विद्यार्थीको सिर्जनशीलता, नेतृत्व क्षमता र नाट्य कलालाई प्रवर्धन गर्ने उद्देश्यका साथ ग्लोबल स्कुल अफ साइन्सको कला तथा साहित्य क्लबद्वारा माघ १६ गते एकाङ्की नाटक प्रतियोगिता सम्पन्न भएको छ ।


कार्यक्रम कक्षा ११ र १२ मा अध्ययनरत नौ जना विद्यार्थीको सक्रिय पहल र व्यवस्थापनमा आयोजना गरिएको थियो ।
प्रतियोगितामा काठमाडौँ उपत्यकाका सात विद्यालय – युनिग्लोब स्कुल, ग्लोबल स्कुल अफ साइन्स, काञ्जिरोवा स्कुल, मेरिगोल्ड स्कुल, भ्याली भ्यु स्कुल र रिलायन्स स्कुल – ले सहभागिता जनाएका थिए ।


विभिन्न सामाजिक, मनोवैज्ञानिक तथा समसामयिक विषयवस्तुमा आधारित नाटकहरू मञ्चन गरिएको थियो, जसले दर्शकको उल्लेखनीय प्रशंसा पाएको थियो । प्रतियोगितामा मेरिगोल्ड स्कुलले ’कविता’ नाटक प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्यो । सोही नाटकले उत्कृष्ट अभिनेता र उत्कृष्ट निर्देशकको उपाधि समेत जित्न सफल भयो ।

मेरिगोल्ड स्कुलले १५ हजार नगद पुरस्कार प्राप्त गर्यो । भ्याली भ्यु स्कुलले ’कठपुतली’ नाटकमार्फत द्वितीय स्थान प्राप्त गर्दै दश हजार नगद पुरस्कार जित्यो भने रिलायन्स स्कुलले ’दृश्य’ नाटक प्रस्तुत गर्दै तृतीय स्थान हासिल गरी पाँच हजार नगद पुरस्कार प्राप्त गर्यो ।


कार्यक्रमका अध्यक्ष तथा आयोजक समितिका प्रमुख विद्यार्थी समृद्ध राज गौतमले कार्यक्रमको उद्देश्यबारे बोल्दै विद्यालय तथा कलेज स्तरमा रहेका युवा कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने साझा मञ्च उपलब्ध गराउनु नै मुख्य दृष्टिकोण रहेको बताए । उनले भने, “नाट्य क्षेत्रमा प्रवेश गर्नु आफैँमा चुनौतीपूर्ण हुन्छ । एक पटक यस क्षेत्रमा पाइला राखिसकेपछि यसलाई छोड्न झनै गाह्रो हुन्छ । त्यसैले सुरुवातमै सही मञ्च र अवसर पाउनु अत्यन्त आवश्यक छ ।“


उनले उपत्यकाभित्र रहेका विभिन्न विद्यालय तथा कलेजहरू बिच देखिँदै आएको अलगाव अन्त्य गर्ने लक्ष्य समेत कार्यक्रमको रहेको स्पष्ट पारे । “धेरैजसो कार्यक्रमहरू आफ्नै संस्था भित्र सीमित हुन्छन् । हामीले त्यो घेराबन्दी तोडेर विभिन्न विद्यालय र कलेजलाई एउटै मञ्चमा ल्याउने प्रयास गरेका हौँ,” गौतमले भने ।

कार्यक्रमका प्रमुख अतिथि हिसानका अध्यक्ष युवराज शर्माले विद्यार्थीहरूद्वारा आयोजना गरिएको कार्यक्रम अनुकरणीय रहेको उल्लेख गर्दै यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीको आत्मविश्वास, अनुशासन र समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।


प्रतियोगिताको निर्णायकमा कुमार आचार्य र मनीष रावत रहेका थिए । उनिहरूले नाटकहरूको विषयवस्तु, अभिनय, निर्देशन र प्रस्तुतिको आधारमा मूल्याङ्कन गरेका थिए । कार्यक्रम आयोजनामा समृद्ध राज गौतमसहित अनमोल त्रिपाठी, यमन चौलागाईं, आँशिया तन्डुकार, सूर्याश मान मक्खु, सुबेक्षा खड्का, आस्था यादव, निलय रिसाल र प्रसिद्धिका आचार्य संलग्न थिए । उनीहरूको समन्वय र नेतृत्वमा कार्यक्रम व्यवस्थित र सफल रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।