कोडेवर ७.० नेशनल प्रतिस्पर्धाको “गल्र्स इन टेक अवार्ड” काठमाडौँ न्यू क्यासल स्कुललाई

काठमाडौं /२८ माघ – विश्वव्यापी प्रतिस्पर्धात्मक मञ्च कोडेवर ७.० नेशनल प्रतिस्पर्धामा नेपाली विद्यार्थीहरूको प्रतिभा देखाउदै काठमाडौं न्यू क्यासलका छात्राहरूले “गल्र्स इन टेक अवार्ड”को उपाधि हात पारेका छन् । अब इन्डोेसियाको जकार्तामा सम्पन्न अन्तर्राष्ट्रिय कोडिङ्, एआई र रोबोटिक्स प्रतिस्पर्धाको फाइनल कोडेवर ७.० मा काठमाडौँ, वसुन्धरा स्थित न्यू क्यासल स्कुलका छात्राहरूले नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाउने छन् ।


विजेता टोलीका छात्राहरूमा रीतिका पौडेल, तृप्ति घिताल र नितु सरदार रहेका छन् । विद्यार्थीहरूले बनाएका स्वचालित भर्टिकल गार्डेन एक आइओटी–आधारित स्मार्ट बगैँचा समाधान हो जुन स्थायी सहरी खेती र बिरुवा हेरचाहलाई प्रवर्धन गर्न डिजाइन गरिएको छ । यसले सहरी क्षेत्रमा हरियाली राख्न गाह्रो हुने, सीमित ठाउँ, अनियमित सिँचाइ र सूर्य प्रकाशको समस्या जस्ता चुनौतीहरू समाधान गर्दछ ।


यो प्रणाली एउटा ईएसपी ३२ माइक्रोकन्ट्रोलरमा आधारित छ । माटोको आद्र्रता र पानीको तह नाप्ने संवेदकहरूले बिरुवाको अवस्था निरन्तर मोनिटर गर्छन् र आवश्यकता अनुसार स्वचालित रूपमा पानी सिँचाइ हुन्छ । यसैगरी, प्रकाश संवेदक (एलडीआर) र वर्षा संवेदकले पानीको बचत गर्दै बिरुवालाई उपयुक्त वातावरण प्रदान गर्छ ।


यसको मुख्य विशेषताहरूमा माटोको आद्र्रता आधारित स्वचालित सिँचाइ, स्मार्ट पानी व्यवस्थापन, सूर्यप्रकाश मोनिटरिंग, वर्षा पत्ता लगाएर अनावश्यक सिँचाइ रोक्ने र ठाउँ बचत गर्ने ठाडो डिजाइन रहेको छ ।


यो परियोजनाले नवीनता, उद्यमशीलता र वातावरणीय जिम्मेवारीको सुन्दर समन्वय प्रस्तुत गरेको छ । घर, विद्यालय र अपार्टमेन्टमा सजिलै लागु गर्न सकिने यो प्रणालीले स्थायी कृषि र स्मार्ट जीवनशैलीलाई प्रवर्धन गर्दछ ।


यस सफलताको क्रममा, यही विजेता विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्दै कोडेवर ७.० को अन्तर्राष्ट्रिय फाइनल मा सहभागी हुनेछन् । अन्तर्राष्ट्रिय फाइनल २०२६ मे १६–१७ मा जकार्ता, इन्डोनेसिया मा आयोजना हुनेछ ।


यस ट्रयाकले विद्यार्थीहरूलाई वास्तविक जीवनका समस्याहरू पहिचान गरी सामाजिक, वातावरणीय र आर्थिक प्रभाव पार्ने प्रविधि–स्वचालित समाधान खोज्न प्रोत्साहित गर्दछ। आइओटी, स्वचालन र स्मार्ट प्रणाली जस्ता प्रविधिहरूको प्रयोगबाट उद्यमशील सोच विकास गराउनु यसको मुख्य ध्येय हो ।


यस उपलब्धिले प्रविधि क्षेत्रमा नेपाली युवतीहरूको बढ्दो सक्रियता र सिपलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ र अरू विद्यार्थीहरूलाई पनि नवीन आविष्कारको लागि प्रेरणा दिने अपेक्षा गरिएको छ ।