सर्लाही/२ पुस – छ महिनादेखि तलब नपाएपछि सर्लाहीको बसबरिया गाउँपालिकाका शिक्षक कर्मचारी आन्दोलित बनेका छन् । उनिहरुले तलब माग गर्दै बुधबारदेखि गाउँपालिका कार्यालयमा अनिश्चितकालिन धर्नामा बसेका हुन् ।
चालु आर्थिक वर्ष २०८२–८३ को बजेट अहिलेसम्म पारित हुन नसकेपपछि विगत ६ महिनादेखि शिक्षक कर्मचारीले तलब पाएका छैनन् । तलब निकासाको माग गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षक आन्दोलित हुँदा सामुदायिक विद्यालयको पठनपाठनमा समेत प्रभावित भएको छ ।
उक्त पालिकाका जनप्रतिनिधिबिच सहमती जुट्न नसक्दा बजेट पारित हुन नसकेको र कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको कर्मचारीले बताएका छन् । बजेट बाँडफाँडसम्बन्धी निर्णय गर्न बन्दसत्रमा सहमती जुट्न नसक्दा समस्या उत्पन्न भएको हो ।
छ महिनासम्म तलब नपाउँदा व्यवहार चलाउन मुस्किल परेकोले तत्काल तलब, भत्ता निकासा नभए विद्यालयहरू पूर्णरूपमा ठप्प पारेर धर्नामा बस्ने शिक्षकहरुको चेतावनी छ ।



