काठमाडौँ /२ पुस – काठमाडौं महानगरपालिकाले विद्यार्थीहरुलाई कुनै पनि शारीरिक र मानसिक यातना नदिन विद्यालयहरुलाई सचेत गराएको छ । बुधबार महानगरको शिक्षा विभागले सामुदायिक र संस्थागत (निजी) विद्यालयलाई परिपत्र जारी गर्दै शारीरिक र मानसिक यातना हुने क्रियाकलाप नगर्न भनेको हो ।
महानगरभित्रका विद्यालयले कपाल लामो भएको भनि जथाभावी मुन्डन गरिदिने गरेको र छात्रलाई मनोवैज्ञानिक असर पुगेको भनी जनगुनासो प्राप्त भएकोले शारीरिक र मानसिक यातना हुने क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
साथै विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्ने आचारसंहिता बनाएर लागू गर्न सक्ने शिक्षा नियमावली २०५९ को व्यवस्था भए पनि विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिन नहुने नियमावलीको व्यवस्थासमेत जानकारी गराएको छ ।



