काठमाडौँ /३ असोज – जेनजी आन्दोलनका क्रममा शिक्षकहरूको घरमा आगजनी लुटपाट गरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले विरोध गरेको छ ।
२३ र २४ गते सञ्चालन भएको जेनजीहरूको शान्तिपूर्ण आन्दोलनले हिंसात्मक स्वरूप ग्रहण गर्दा देशभरका अनगिन्ती सार्वजनिक सम्पदाहरू तहसनहस हुनुका साथै शिक्षकहरूको घरमा लुटपाट, तोडफोड र आगजनी गरी जनजीवनलाई कष्टकर बनाइएको जनाएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति सुर्खेतका अध्यक्ष डिलाराम भण्डारीको घर, काभ्रे जिल्ला समितिका सदस्य गिता सापकोटा न्यौपानेको घर, झापा जिल्लाको शिक्षक सहकारीको कागजात लगायत अन्य शिक्षकहरूको समेत घरमा लुटपाट, तोडफोड र आगजनी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
साथै तत्काल छानबिन आयोग गठन गरी घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न र पीडितहरूलाई उचित क्षतिपूर्तिको प्रबन्ध गर्न संगठनले माग रहेको छ । यसैगरी युवाहरूले आन्दोलनमा उठाएका जायज मागहरूको सम्बोधन, संविधानको रक्षा, विधिको शासन, मानव अधिकार, लोकतन्त्र र ट्रेड युनियन अधिकारको सुनिश्चितताको माग गरेको छ ।
यो बदलिएको परिस्थितिमा शिक्षकहरूलाई धैर्य रहन र निर्वाद रूपमा शैक्षिक तथा आफ्ना साङ्गठनिक गतिविधिहरू सञ्चालन गर्न संगठनले आह्वान गरेको छ ।



