शिक्षा मन्त्रीको नाम बजारको हल्ला

काठमाडौँ /२ असोज – भदौँ २३ र २४ गते भएको जेन्जी आन्दोलन पछि तत्कालिन सरकारको बहिर्गमनसँगै सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकार बनेसँगै शिक्षा मन्त्रीमा विभिन्न व्यक्तिहरूको नाम आएपनि अहिलेसम्म त्यसको कुनै टुङ्गो लग्न सकेको छैन ।


तर पछिल्लो समय जति पनि व्यक्तिहरूको नाम सामाजिक सञ्जालमा आएका छन ति सबै हल्ला मात्रै भएको देखिन्छ । प्रधानमन्त्री सुशीला कार्कीले ११ जनाको मन्त्री मण्डल बनाउने तयारी भईरहेको अभिव्यक्ति दिएपनि उनले अहिलेसम्म अर्थमन्त्री, गृह तथा कानुन मन्त्री र उर्जा मन्त्रीसहित अन्य मन्त्रालयको जिम्मेवारी दिएर तीन जना मन्त्री मात्रै नियुक्त गरेकी छन् । बाँकी रहेका मन्त्रालयहरूमा कस्ता व्यक्ति आउने वा कसलाई राख्ने भन्ने विषयमा भने अहिलेसम्म अन्योल नै रहेको देखिन्छ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ जान लागेको कुरा आएपछि यस सन्दर्भमा श्रेष्ठले अन्तरिम मन्त्री मण्डलमा आफू नजाने प्रस्ट पारेकी छन् । उनले सरकार प्रति पूर्ण समर्थन रहेको, पृष्ठभूमिमा बसेर सरकारलाई सफल बनाउन सहयोग गर्ने बताएकी छन् ।


“म अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन । मेरो यस सरकारप्रति पूर्ण समर्थन छ । यो सरकारलाई असफल हुने सहुलियत छैन, पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन । हरेक आन्दोलन पछि जसको विरुद्ध आन्दोलन भएको हो त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदूषित भएको छ । यसपालिको आन्दोलनमा म त्यस्तो प्रदूषणको कारक बन्दिन, यसको उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्छु” उनले भनेकी छन् ।


त्यसैगरी नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई शिक्षा मन्त्रालयमा लउनु पर्ने सामाजिक सञ्जालमा हल्ला गरिएको थियो । केही शिक्षकहरूले नै सामाजिक सञ्जालमा उनलाई ल्याउनु पर्ने पोस्ट समेत राखेका थिए ।


सुवेदीले सामाजिक सञ्जालमा आएका चर्चाले आफैलाई अचम्मित र दुखी बनाएको उल्लेख गर्दै शिक्षा मन्त्रालयको नेतृत्वको होडमा आफू नरहेको बताएका छन् । उनले जेन्जी आन्दोलनको सहभागी, अभियन्ता र योजनाकार केही पनि नभएको बताउँदै आफू शिक्षक भएको र शिक्षक नै रहिरहने प्रस्ट पारेका छन् ।


अहिले सामाजिक सञ्जालमा शिक्षाविद् केदार भक्त माथेमा र प्रा.डा. विद्यानाथ कोइराला मध्ये एउटालाई शिक्षा मन्त्री बनाउन लागिएको चर्चा भईरहेको छ । माथेमाले यस विषयमा धेरै कुरा गर्न नचाहेपनि आफूलाई शिक्षा मन्त्रीमा जान कुनै रुची नभएको बरु विद्यानाथ कोइरालाई बनाउँदा ठिक हुने विचार व्यक्त गरे ।


यसैगरी शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले आफू शिक्षा मन्त्रीको प्रत्याशी नभएको प्रस्ट पार्दै जेन्जीबाटै शिक्षा मन्त्री बनाउँदा राम्रो हुने बताए । आधिकारिक रूपमा कसैसँग पनि यस विषयमा अहिलेसम्म कुनै कुराकानी नभएको र हल्लै हल्लामा चर्चा गरिएको उनको भनाई छ । उनले भने म शिक्षा मन्त्रीको प्रत्याशी होइन । हामी जस्ता मान्छे गएर हुँदैन जेन्जी बाटै बनाउँदा राम्रो होला । बरु मन्त्री एउटा भएपनि सल्लाहकारका रूपमा हामी जस्ता मान्छेले सल्लाह दिन सकिन्छ । त्यसले निकास पनि देला । अरू सबै बजारका हल्ला मात्रै हुन् ।