काठमाडौँ /२३ भदौ – शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिले आन्दोलनरत जेनजी पुस्तासँग तत्काल वार्ता गरेर समस्याको समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले आन्दोलनका माग के हुन वार्ता मार्फत समस्याको समाधान गर्न र समितिलाई जानकारी दिन निर्देशन दिएको हो ।
सामाजिक सञ्जाल सन्दर्भमा तथ्यगत कुरा समितिको आगामी बैठकमा जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
बैठकले आन्दोलनरत घाइते सबैको निशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुका साथै र सम्पूर्ण युवाहरूलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरू राख्न आग्रह गरेको छ । यसैगरी गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च सतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको थापाले बताए ।
जेनजी पुस्ताको आन्दोलनका कारण सोमबार काठमाडौंको बानेश्वर क्षेत्र तथा देशभरका शहरहरु तनावग्रस्त बनेका छन् ।



