प्याब्सनको चेतावनी : शिक्षा विधेयकको प्रतिवेदन दुई दिनमा नसचिए आन्दोलनमा जान्छौँ

काठमाडौँ /३ भदौं – प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन दुई दिन भित्र नसचिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । निजी विद्यालयहरूले मिल्नेसम्मको छात्रवृत्ति दिन्छौँ भन्दा पनि सरकारले जबरजस्ती गर्न खोजेको र प्रतिवेदनमा समावेश भएको पूर्ण छात्रवृत्ति नहटाए सरकार र समिति विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।


यस अघि नै निजी विद्यालयहरूले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रस्तावित शिक्षा विधेयकमा केही विषयहरू निजी विद्यालयहरूलाई अमान्य भएको र त्यसलाई हटाउनु पर्ने माग गरेका छन् ।


अधिकारीले निजी लगानी गरिएको सम्पत्तिमा सरकारले जबरजस्ती गर्न नमिल्ने बताउँदै दुई दिन भित्र प्रतिवेदन सचिएर पेस हुनुपर्ने बताए । उनले भने हामीले मिल्नेसम्म छात्रवृत्ति दिन्छौँ भनेकै छौं । तर निजी लगानी गरिएका विद्यालयमा यति दिनुपर्छ भनेर सरकारले भन्न मिल्दैन । किताब, कापी, बस्ने व्यवस्था विद्यालयले कहाँ किनेर दिने । त्यो हुनै सक्दैन । यदी जबरजस्ती गरेर ऐन ल्याए आन्दोलनमा जान्छौँ, अरू विकल्प छैन ।


उनले निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाईनेछ भन्ने वाक्यांश हटाइनु पर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १०५ छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने व्यवस्था गरेर शिक्षा ऐन जारी गर्नुपर्ने जोड् दिए ।


प्याब्सनले प्रदेश÷जिल्ला तथा पालिका कार्यसमितिहरू सबैलाई निर्देशन दिँदै साउन २९ गतेदेखि ७ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । तर विद्यालय शिक्षाको प्रतिवेदन भदौँ २ गते समितिमा पेस भएकोर भदौँ ५ गते नै संसदनमा दर्ता गर्न सक्ने भएकोले आन्दोलनका कार्यक्रम परिवर्तन गरेर तत्काल जाने तयारीमा रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।