विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न १६ विद्यार्थी संगठनको माग

काठमाडौं/२ भदौं – अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै १६ विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार संयुक्त रूपमा समितिका सभापति अम्मरबहादुर थापालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।


सरकारले पटक–पटक विद्यालय शिक्षक ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि ऐन जारी हुन नसक्नु सरकारद्वारा विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरिएको उनीहरूको ठम्याइ छ ।


यसैगरी विभिन्न प्रकारका शिक्षक र कर्मचारीहरूको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने उल्लेख गर्दै योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत मात्र शिक्षक नियुक्ति हुने व्यवस्था गर्न उनिहरुको माग रहेको छ ।


सभापतिलाई बुझाईएको माग पत्रमा भनिएको छ ‘शिक्षा ऐन २०२८ ले निर्माण गरेका विभिन्न प्रकारका शिक्षक र कर्मचारीहरूको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने र शिक्षकको योग्यता गुणस्तरीय विद्यालय शिक्षाको मानक भएकाले विद्यालय शिक्षक नियुक्ति प्रक्रिया संविधानले अंगीकार गरेको समावेशी मूल्य मान्यतासहितको योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत मात्र हुने व्यवस्था विद्यालय शिक्षा ऐनमा सुनिश्चित गर्ने संयुक्त विद्यार्थी संगठन सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ’ ।