काठमाडौं/३१ साउन – नेपाल शिक्षक महासङ्घले आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र शिक्षा मन्त्रालयलाई वार्षिक प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था गर्न लागिएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले जनाएको छ । सचिवालयले तयार गरेको विद्यालय शिक्षा विधेयक सम्बन्धी प्रतिवेदनमा उक्त विषय समावेश गरिएको जनाएको हो ।
संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन केही विषयमा संशोधन सहित पारित गरेर समितिको सचिवालयलाई प्रतिवेदन लेखनको जिम्मा दिइएको थियो । महासङ्घको व्यवस्था उपसमितिले तयार गरेको प्रतिवेदन अनुसार नै रहेपनि वर्षभरीमा शिक्षाको गुणस्तर सुधार, शिक्षकको पेसागत क्षमता अभिवृद्धि, विद्यालय शिक्षाको पहुँच र गुणस्तरीय सुधार लगायतका विषयमा सम्पादन गरेर रचनात्मक क्रियाकलाप समावेश भएको वार्षिक प्रतिवेदन शिक्षा मन्त्रालयलाई हरेक वर्ष बुझाउनु पर्ने व्यवस्था गरेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमलाले बताए ।
उनले प्रतिवेदन लेख्ने काम सकिएको बताउँदै आइतवार वा सोमवार बस्ने समितिको बैठकमा पेस गरिने जानकारी दिए । धमलाका अनुसार विधेयककै सन्दर्भमा प्रदेशहरूमा गरिएका छलफलमा शिक्षकहरू राजनीतिमा लागेका कारण सामुदायिक विद्यालयमा सुधार हुन नसकेको धेरै गुनासो आएपछि शिक्षक कुनै पनि राजनीतिक गतिविधिमा लाग्न नहुने तर भोट दिने अधिकार रहने व्यवस्था गर्न लागिएको बताए ।
यसैगरी विधेयक प्रतिवेदनमा शिक्षक सेवा आयोगले भईरहेका शिक्षकबाट प्रतिस्पर्धा गराएर योग्य व्यक्तिलाई प्रधानाध्यापकमा छनोट गर्ने व्यवस्था गरिएको छ । त्यसरी छनोट भएका व्यक्ति प्रधानाध्यापकको जिम्मेवारी रहँदासम्म नेपाल शिक्षक महासङ्घमा आबद्ध हुन पाउने छैनन् ।
ऐनले पार्टीगत संघ संगठन नचिन्ने र पेसागत हकहितका लागि नेपाल शिक्षक महासङ्घ रहने व्यवस्था गरिएको सचिवालयको भनाई छ । समितिका धेरै सदस्यहरूले यसलाई खारेज गर्नुपर्छ भनेपनि शिक्षक संगठनहरू दलगत नहुने नितान्त पेसागत हुनुपर्ने विषयमा सहमति भएको थियो ।
साथै नेपाल शिक्षक महासङ्घले पदाधिकारी सबैलाई काजको व्यवस्था हुनुपर्ने माग गरे पनि समितिका सांसदहरूले यसलाई अस्वीकार गरेपछि शिक्षा मन्त्रालयले दुई जनालाई काज दिनुपर्ने माग गरेको र त्यस अनुसार समितिले निर्णय गरेको छ । तर काज लिने व्यक्ति कुनै एउटा विद्यालयमा अनिवार्य हाजिर हुनुपर्ने व्यवस्था गरेको छ ।



