बेरोजगारी : शिक्षा प्रणालीको असफलता कि सोचको कमजोरी ?

दार्चुला/१५ साउन – बेरोजगारी कुनै पनि राष्ट्रको सामाजिक र आर्थिक समस्याको जरो हो । वयस्क नागरिकहरू आयआर्जन बिना खाली बस्नु बेरोजगारी हो भन्ने बुझाइले स्पष्ट पार्छ कि यो समस्या केवल व्यक्तिगत मात्रै होइन, राष्ट्रकै विकासमा बाधक हुन्छ । राष्ट्रले आफ्ना नागरिकहरूका लागि पर्याप्त रोजगारीका अवसरहरू सिर्जना गर्नु र नागरिकले पनि आत्मनिर्भर भएर आयआर्जनका काममा लाग्नु आजको आवश्यकता हो । तर, नेपालको सन्दर्भमा हेर्दा बेरोजगारीको दर घट्नुको साटो दिनप्रतिदिन बढ्दो छ । हरेक सरकारी योजनामा रोजगारी सिर्जनाको कुरा भए तापनि त्यो योजनाको कार्यान्वयन भन्दा पहिले नै बेरोजगारको सङ्ख्या योजनाले प्रदान गर्ने रोजगारीको सङ्ख्याभन्दा धेरै हुन्छ ।


बेरोजगारीको यो भयावह स्थिति केवल आर्थिक समस्यासम्म सीमित छैन, यसले सामाजिक विकृति र आपराधिक क्रियाकलापलाई समेत प्रश्रय दिएको छ । जब मानिसहरू काम विहीन हुन्छन्, तब उनीहरू कुसँगत, कुलत र कुकर्मतिर आकर्षित हुने सम्भावना बढ्छ । “खाली दिमाग भूतको घर हो” भन्ने उखान अनुसार बेरोजगारीले मानिसलाई असामाजिक गतिविधिमा संलग्न गराउने जोखिम अत्यन्तै उच्च हुन्छ । चोरी, डकैती, बलात्कार, हत्या जस्ता अपराधहरू बढ्नुमा बेरोजगारी एक मूल कारणका रूपमा देखिन्छ । यस्तो विकृति न्यूनीकरण गर्नका लागि राज्यको शिक्षा नीति सुधार हुनु आवश्यक छ, जसले व्यवहारिक, उद्यमशील र सीपमूलक शिक्षा दिन सकोस् ।


बेरोजगारीको समस्या समाधान गर्न केवल सरकारले मात्र होइन, नागरिक स्वयम् पनि अग्रसर हुनुपर्छ । सरकारको नीति र कार्यक्रमप्रति पूर्ण निर्भर भएर बस्नु समाधान होइन । हरेक नागरिकमा आत्मनिर्भरता र उद्यमशीलता विकास गराउनु आजको आवश्यकता हो । शिक्षा प्रणालीलाई व्यवहारिक र सीपमुखी बनाउन सकेमा युवा वर्ग स्वरोजगारतर्फ लाग्न सक्छन् । साथै, कृषि, पर्यटन, लघुउद्योग, डिजिटल सेवा र स्वरोजगार जस्ता क्षेत्रहरूमा युवाहरूको आकर्षण बढाउन विशेष तालिम र सहयोग कार्यक्रमहरू आवश्यक छन् । नागरिकलाई उत्पादनशील बनाउने योजना नै बेरोजगारीको मूल उपचार हो ।


बेरोजगारी केवल काम नपाएको अवस्था होइन; यो अवस्था मानसिक तनाव, सामाजिक अस्थिरता र राष्ट्रिय विकासमा अवरोधको कारक पनि हो । यस समस्याको समाधानका लागि दीर्घकालीन रणनीति, समावेशी नीति, पारदर्शी कार्यान्वयन र नागरिकको सक्रिय रूपमा सहभागिता अनिवार्य छ । खाली सरकारप्रति आक्रोश वा दोषारोपण गरेर होइन, स्वयम् केही गर्न खोज्ने भावना, सीप र आत्मबल निर्माण गर्नु बेरोजगारी विरुद्धको प्रभावकारी कदम हो । यसर्थ, अब बेरोजगारीलाई केवल समस्याको रूपमा होइन, अवसरको रूपमा हेरेर स्वदेशमै सम्भावनाहरू खोज्ने र प्रयोग गर्ने बेला आएको छ ।


यो एक व्यक्ति स्वयँ र राष्ट्रका लागि पनि विकराल समस्या र चुनौती हो । यसलाई समाधान गर्न व्यक्ति स्वयँ र राष्ट्रले पनि आवश्यक मात्रामा पहल गर्नु अनिवार्य छ । एउटा व्यक्ति तब मात्र बेरोजगार हुन्छ जब उसलाई काम गर्ने इच्छा त हुन्छ तर काममा संलग्न हुँदैन । यसै दृष्टिले हेर्ने हो भने बेरोजगारीको सङ्ख्या गन्न सकिँदैन । किनभने आज लाखौँ करोडौँ हातहरू जीविकोपार्जनका लागि व्याकुल छन् ।


नेपालमा बेरोजगारीको समस्या गहिरिँदो महामारीझैँ फैलिएको यथार्थ हो, जसले राष्ट्रको समग्र विकासलाई नै चुनौती दिएको छ । विशेषत युवा शक्तिको विदेश पलायनले राष्ट्रको उर्जाशील उत्पादनशक्ति गुमाउँदै लगेको छ । राजनीतिक अस्थिरता, सरकारी नीति तथा योजनामा दूरदर्शिताको अभाव, सीपमूलक शिक्षाको कमजोरी, स्वदेशमै रोजगारीका अवसरको न्यूनता र निजी क्षेत्रको लगानीमै अभाव हुँदा हाम्रो युवा वर्ग वैदेशिक रोजगारीतर्फ आकर्षित भएको छ । वैदेशिक रोजगारीले केही हदसम्म परिवारको आर्थिक अवस्था सुधार गरे पनि यसले सामाजिक, सांस्कृतिक र पारिवारिक विखण्डन निम्त्याइरहेको छ । लाखौँ युवाहरू आज खाडी मुलुकदेखि मलेसिया र कोरियासम्म आफ्नो श्रम बेच्न बाध्य छन्, जहाँ उनीहरूले अपमान, जोखिम र कहाली लाग्दो शोषण सहनुपरेको तथ्यहरू आम छन् ।


हाम्रो मुलुकमा प्रशस्त प्राकृतिक स्रोत साधन र मानव शक्ति हुँदा पनि तिनको योजनाबद्ध सदुपयोग नहुनु दुःखद पक्ष हो । जल, जमिन, जंगल, खनिज र पर्यटनको अथाह सम्भावना भएर पनि बेरोजगारीको ग्राफ बढ्नु योजनाको असफलता र कार्यान्वयनको कमजोरी हो । अर्कोतर्फ, शिक्षाले व्यवहारिक सीपभन्दा पनि केवल प्रमाणपत्रतर्फ केन्द्रित गराइरहेकाले विद्यार्थीहरू अध्ययन पश्चात कार्यशीलता र स्वावलम्बी बन्न असमर्थ छन् । जब कलेज र विश्वविद्यालयको जीवन सकिन्छ तब धेरै युवाहरू ’अब के गर्ने?’ भन्ने प्रश्नले मानसिक तनावमा पर्छन् । पढाइ सकिएपछि बेरोजगारी सुरु हुने स्थितिले हाम्रो शिक्षालाई उत्पादनमूलक बनाउन नसकेको प्रमाण दिन्छ ।


शिक्षा केवल रोजगारी प्राप्तिको साधन होइन, व्यक्तिको समग्र व्यक्तित्व विकासको माध्यम हो भन्ने बुझ्न सक्नुपर्छ । शिक्षाको मूल उद्देश्य सिर्जनशीलता, आत्मनिर्भरता, समस्या समाधान क्षमताको विकास हो । “मैले पढेँ तर काम पाइन“ भन्ने भावनाले व्यक्तिमा हीन भावना, आत्मग्लानि र सामाजिक आक्रोश उत्पन्न गर्छ, जसले समाजमा असन्तोष फैलाउँछ । वास्तवमा, समस्या डिग्रीमा होइन, सोचमा हो । आजको विश्वमा सिर्जनशील सोच, उद्यमशीलता र आत्मविश्वासले नै रोजगारी सिर्जना गर्न सकिन्छ। प्रविधिको युगमा डिजिटल प्लेटफर्म, फ्रीलान्सिङ, इनोभेटिभ कृषि, लघु उद्यम, सेवा क्षेत्र लगायतका सम्भावनाहरूले युवालाई स्वरोजगारतर्फ डो¥याउन सक्छ ।


प्रत्येक शिक्षित नागरिकले आफ्नो क्षमता, सीप र ज्ञानको प्रयोग गर्दै समाधानतर्फ सोच्नुपर्छ । युवाहरूमा ‘आफै केही गर्न सकिन्छ’ भन्ने सोच विकास गरी साना लगानी, सामूहिक उद्यम, व्यावसायिक तालिम, र डिजिटल प्रविधिको प्रयोगद्वारा स्वदेशमै अवसर सिर्जना गर्न सकिन्छ। राज्यले यसका लागि नीतिगत समर्थन, लगानीको सहज पहुँच, तालिम र परामर्श उपलब्ध गराउनुपर्छ । यसरी मात्र बेरोजगारीको महामारी विरुद्ध हामीले दीर्घकालीन, स्थायी र प्रभावकारी समाधान पाउन सक्नेछौँ ।


शिक्षा कुनै विलासिता होइन, जीवन निर्वाहका लागि हावा र पानी सरह आवश्यक आधार हो । व्यक्तिले पाएको शिक्षालाई व्यवहारमा उतार्न सकेमा मात्रै त्यो शिक्षा सार्थक हुन्छ । शिक्षाको मुख्य उद्देश्य व्यक्तिलाई आत्मनिर्भर र जिम्मेवार बनाउनु हो, जसबाट ऊ केवल जागिर खोज्ने होइन, आफैँ रोजगारी सिर्जना गर्न सक्ने स्थिति बनोस् । हाम्रो मुलुकमा भने शिक्षा अझैपनि सैद्धान्तिक र घोकन्ते शैलीमा केन्द्रित छ, जसले व्यवहारिक ज्ञान, सीप र उद्यमशीलता विकासमा कमजोरी ल्याएको छ । फलस्वरूप शिक्षित नागरिक बेरोजगार छन्, किनभने उनीहरू केवल डिग्रीमा भर पर्ने, सरकारी वा निश्चित किसिमको जागिर पाउने आशामा छन्, तर सृजनशील सोच र सीपको उपयोग गर्न असफल छन् ।


यदि राष्ट्रले आफ्नो युवाशक्ति र क्षमतावान् जनशक्तिको सही पहिचान गरी तिनीहरूको सीप र ज्ञानलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके भने बेरोजगारी समस्याको उल्लेखनीय समाधान सम्भव छ । जस्तो कि नदीको बगेको पानी थुनेर विद्युत् उत्पादन गर्न सकिन्छ, त्यस्तै लुकेका मानवीय सीपको सदुपयोग गरेर देशको समृद्धिमा उपयोग गर्न सकिन्छ । घरेलु उद्योग, लघु उद्यम, कृषि, पशुपालन, प्रविधि, पर्यटन, हस्तकला जस्ता क्षेत्रमा स्वरोजगारका अपार सम्भावना छन्, जसका लागि युवाहरूलाई सीपमूलक तालिम, सहुलियत ऋण, र नीतिगत समर्थन प्रदान गर्नु आवश्यक छ । शिक्षालाई व्यावहारिक बनाउँदै सैद्धान्तिक ज्ञानसँगै काम गर्न सक्ने क्षमता विकास गर्नु अबको आवश्यकता हो ।


युवा पुस्ताले पनि मानसिकताको रूपान्तरण गर्न आवश्यक छ । “देशले मलाई के दिन्छ?” भन्नु भन्दा पहिला “म देशका लागि के गर्न सक्छु ?” भन्ने सोच विकास गर्नु नै सच्चा नागरिकको संकेत हो । काम सानो वा ठूलो होइन, कामको मूल्य र प्रभाव ठूलो हुन्छ भन्ने बुझ्न आवश्यक छ । सफा गर्ने कामदेखि सफ्टवेयर बनाउनेसम्म, खेती गर्ने कामदेखि कलकारखाना चलाउनेसम्म, सबै काम समान रूपमा महत्वपूर्ण छन् । कामको सम्मान गर्ने संस्कार विकसित गर्न सके मात्र युवाहरू स्वरोजगारप्रति आकर्षित हुन्छन्, जसले बेरोजगारी घटाउँछ र स्वदेशमै समृद्धिको बाटो खोल्छ ।


निष्कर्षमा भन्नुपर्दा बेरोजगारीको समस्यालाई सरकारको मात्र जिम्मेवारीको रूपमा नलिई नागरिकको साझा दायित्वको रूपमा पनि लिनुपर्छ । शिक्षा प्रणालीलाई व्यवहारिक र सिर्जनशील बनाउँदै, नागरिकमा उद्यमशील सोच र आत्मबल विकास गर्दै, राष्ट्रले आफ्ना क्षमतावान् जनशक्तिको पहिचान गरी अवसर सिर्जना गर्ने रणनीति लिइनु आजको आवश्यकता हो । यथार्थमा, राष्ट्रका लागि सबैभन्दा ठूलो सम्पत्ति स्रोत–साधन होइन, योग्य र क्रियाशील नागरिक हुन्, जसले राष्ट्रलाई समृद्धि र शान्तिको मार्गमा अग्रसर गराउँछन् ।


(लेखक मनस्वी ऐतवाल, सुदूरपश्चिम विश्वविद्यालय, दार्चुला बहुमुखी क्याम्पस, स्नातक तह, आठौँ सेमेस्टर अङ्ग्रेजी शिक्षा विषयकी विद्यार्थी हुन् । )