उहिलेका “बा“ र अहिलेका, पितृत्वको बदलिँदो भूमिका

काठमाडौं/८ साउन – नेपाली समाजमा पहिले “बा“ भन्नासाथ कडा अनुशासन, डर र अधिकार सम्झिन्थ्यो । “बा“ घर बाहिर काम गर्ने, पैसा कमाउने र ठूला निर्णय गर्ने व्यक्ति मानिन्थ्यो । बालबालिकाले स्कुल जानु, लुगा किन्नु वा केही सोध्नुपर्दा आमाले भन्नुहुन्थ्यो – “बा आउनुहोस्, तब सोधौँला”। यसले बालाई डरको रुपमा बनाएको थियो ।


तर अहिले समय फेरिएको छ । अहिलेका बुवा घरको काममा पनि सहयोग गर्ने, बालबालिकासँग रमाउने, पढाउने, र कुराकानी गर्ने बन्न थालेका छन् । बालबालिकाले अब बुवासँग डराउनु होइन, माया गर्नु र साथी जस्तै व्यवहार गर्न थालेका छन् ।
शहर मात्र होइन, गाउँघरमा पनि अब बुवा बालबालिकाको हेरचाहमा सहभागी हुने गरेका छन् । स्कुल, अस्पताल वा समाजमा बालबालिकाको हक र शिक्षा बारे बुझ्ने बुवाले अब आफ्ना सन्तानसँग समय दिन थालेका छन् ।


बालबालिकाको प्रारम्भिक वर्षहरू (०–८ वर्ष) शारीरिक, सामाजिक, भावनात्मक, भाषा तथा सञ्चार र बौद्धिक विकासको लागि अत्यन्तै महत्वपूर्ण समय हो । यस अवधिमा बुवाको सक्रिय सहभागिताले बालबालिकालाई सुरक्षित, आत्मविश्वासी र समाजमा घुलमिल हुन सक्ने बनाउँछ ।


बुवाको मायालु व्यवहार, समय दिनु, सँगै खेल्नु वा कुराकानी गर्नु जस्ता सामान्य क्रियाकलापहरूले बालबालिकामा स्थिरता, अनुशासन र सकारात्मक सोचको विकास गर्न सहयोग पु¥याउँछ । बुवाले देखाएको साथले बालबालिकालाई भविष्यमा पनि जीवनका चुनौतीहरू सामना गर्न सक्ने बनाउँछ ।


पहिले बालबालिकाको सबै कुरा आमाले मात्र हेर्ने विश्वास थियो । अहिले भने बालबालिकाको बौद्धिक, सामाजिक र भावना विकासमा बुवा पनि उत्तिकै जरूरी छन् भन्ने बुझाइ बढ्दो छ ।


सरकार, स्कुल र समाजले अब बुवालाई पनि बालबालिकाको जीवनमा महत्वपूर्ण भूमिका दिनुपर्छ । बुवा अब केवल पैसा कमाउने होइन, बालबालिकासँग समय दिने, माया गर्ने र सहारा दिने व्यक्ति बन्न आवश्यक छ ।


उहिलेका बा अनुशासन दिन्थे, आजका बुवा साथ दिन्छन् । यी दुबै भूमिका समाजका लागि आवश्यक छन् । अबको आवश्यकता भनेको बा र आमाले मिलेर बालबालिकाको उज्ज्वल भविष्य बनाउने हो ।


(लेखक रति शर्मा प्रारम्भिक बाल विकास विशेषज्ञ हुन् ।)