काठमाडौँ /३ साउन – नेपालले हालै अस्ट्रेलियाको सनशाइन कोष्टमा सम्पन्न भएको अन्तर्राष्ट्रिय गणित ओलम्पियाड ९ आईएमओ २०२५० मा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
नेपाली टोलीले एक कांस्य पदक र एक सम्मानजनक स्थान प्राप्त गर्दै ४६ अंक हासिल गरेको छ । यो उपलब्धिले नेपाललाई १ सय १० सहभागी राष्ट्रहरू मध्ये ८१औँ स्थानमा पु¥याएको छ, जुन गत वर्षको ९०औँ स्थानको तुलनामा उल्लेखनीय प्रगति हो । यो सफलताले सम्पूर्ण नेपालीलाई गर्वको अनुभूति गराएको छ ।
श्रेयश शर्मा बाँस्तोलाले कांस्य पदक र आयाम आचार्यले सम्मानजनक उल्लेख प्राप्त गरेका छन् । नेपाली टोलीमा श्रेयश शर्मा बाँस्तोला, आयुष थगुन्ना, द्रोण चौधरी, नमन महेश्वरी, आयाम आचार्य र आशिष् मिश्र गरी ६ जना प्रतिभाशाली विद्यार्थीहरूले भाग लिएका थिए । उनीहरूको मेहनत र समर्पणले नेपाललाई यो गौरवशाली स्थान दिलाएको हो । टोलीको नेतृत्व छवि ढुङ्गानाले गरेका थिए भने नारायण पौडेल उपनेताको रूपमा र हरि प्रपन्न कँडेल, हरि शरण पण्डित र प्रजित अधिकारी पर्यवेक्षकको रूपमा सहभागी थिए ।
यी सबै म्याथमेटिकल एसोसिएसन अफ नेपाल (म्यान) को आधिकारिक प्रतिनिधित्वमा सहभागी भएका थिए । म्यान नेपाल सरकार र आईएमओ बोर्डद्वारा मान्यता प्राप्त संस्था हो जसले गणित ओलम्पियाड सम्बन्धी गतिविधिहरू सञ्चालन गर्छ र नेपालबाट सहभागी हुने विद्यार्थीहरूको छनोट गर्छ । म्यानका अध्यक्ष डा. विनोद प्रसाद पन्तका अनुसार, सातै प्रदेशबाट २ हजार ३ सय २७ विद्यार्थीहरूले जिल्ला तहको गणित ओलम्पियाडमा भाग लिएका थिए । चार चरणको छनोट प्रक्रियाबाट ६ जना विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धाका लागि छानिएका थिए ।
राष्ट्रिय स्तरमा पुगेका विद्यार्थीहरूलाई बन्द शिविर प्रशिक्षण र नियमित अनलाइन सहयोग प्रदान गरिएको थियो । म्यानको एक वर्षको अथक प्रयासले कांस्य पदक र सुधारिएको देशको स्थान प्राप्त भएको छ । डा. पन्तले यो उपलब्धिप्रति खुसी व्यक्त गर्दै नेपालको गणित क्षेत्रमा भएको प्रगतिलाई उजागर गरे ।
यो वर्षको आईएमओमा चीनले पहिलो, अमेरिकाले दोस्रो र कोरियाले तेस्रो स्थान प्राप्त गरे । छिमेकी राष्ट्रहरूमा भारत सातौँ, पाकिस्तान ७९औँ, भुटान १०७औँ र बङ्गलादेश ५३औँ स्थानमा रहे । नेपालको यो प्रगतिले हाम्रो देशको शैक्षिक सम्भावनालाई विश्वसामु प्रस्तुत गरेको छ ।



