काठमाडौं/१ साउन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले नेपाल शिक्षक महासंघसँग गरेका सहमतिलाई अक्षरशः कार्यान्वयन गर्दै यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न माग गरका छन् । ऐनको अभावमा समग्र शैक्षिक क्षेत्र नै अनिर्णयको बन्दी बनेको र यसले लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको बताए ।
‘गुणस्तरीय शिक्षाका लागि महाअभियान’ तथा ‘जीवनलाई स्वागत, लागुऔषधलाई निषेध’ भन्ने मूल नारासहित नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै महरले उक्त माग राखेका हुन् ।
उनले भने, “सरकारले शिक्षक महासंघसँग सम्झौताको मसी सुक्न नपाउँदै त्यसबाट पछि हट्न खोज्नु दुर्भाग्यपूर्ण र शैक्षिक क्षेत्रप्रतिको गैरजिम्मेवारपन हो । अब कुनै बहानाबाजी स्वीकार्य छैन, सहमतिबमोजिमको ऐन तत्काल जारी गरी गुणस्तरीय शिक्षाको अभियानमा सबैलाई एकजुट हुन आवश्यक छ “। उनले विद्यालय कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको पेसागत सुरक्षा र सम्मानका लागि पार्टीले सधैँ आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले आयोजना गरेको यो राष्ट्रव्यापी अभियानले एकातिर संगीत र कलाको माध्यमबाट विद्यार्थीहरूलाई लागुऔषध दुव्र्यसनविरुद्ध सचेत गराउने र अर्कोतिर नीतिगत तहमा शैक्षिक सुधारका लागि दबाब सिर्जना गर्ने दोहोरो उद्देश्य बोकेको छ ।
संघका अध्यक्षले आफ्नो मन्तव्यमा विद्यालय कर्मचारीहरूलाई शिक्षा ऐनले लामो समयदेखि बेवास्ता गरेको गुनासो गर्दै प्रस्तावित ऐनमा आफ्ना मागहरू सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले भने, “हामी विद्यालयका मेरुदण्ड हौँ, तर हामीलाई नै ऐनले नचिन्दा हाम्रो भविष्य अन्धकार भएको छ । शिक्षक र कर्मचारीका माग सम्बोधन नभएसम्म गुणस्तरीय शिक्षा केवल नारामा सीमित हुन्छ ।”
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद्, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति थियो । काठमाडौंबाट सुरु भएको यो साङ्गीतिक यात्राले देशका प्रमुख सहरहरूमा पुगेर शैक्षिक बहस र सचेतना कार्यक्रमहरू गर्ने आयोजकले जनाएको छ ।



