काठमाडौँ/२२ असार – विद्यालय शिक्षा विधेयक माथिको छलफल फेरी स्थगित भएको छ । विधेयक पारित गर्ने उदेश्यले आइतवार बोलाइएको संसदीय समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूका मागका विषयमा थप छलफल गर्न समय मागेपछि फेरी स्थगित भएको हो ।
शिक्षकहरूले आवधिक बढुवा लगायतका विषयमा राखेको असहमतिलाई सम्बोधन गर्न बाँकी रहेको भन्दै सरकारको तर्फबाट मन्त्री पन्तले थप समय मागेका थिए । तर सांसदहरूले भने विधेयक आजै पारित गर्नुपर्नेमा जोड् दिएका थिए ।
यसअघिका अस्थायी शिक्षकहरूको हकमा आन्तरिक प्रतिस्पर्धा ६० प्रतिशत र खुलाबाट ४० प्रतिशत विज्ञापनको विषय विवादित बन्दै आएको थियो । महासङ्घले यस विषयमा सहमति जनाएका पछि यो विषय करिब टुङ्गिएको छ भने अहिले आएर शिक्षकको बढुवाको विषयमा समस्या देखिएको छ ।
अन्तिममा समितिका सभापति अम्मर बहादुर थापाले सरकारको आग्रहअनुसार बैठक स्थगित भएको घोषणा गरे । उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए । यसैगरी सभापति थापाले अबको पाँच दिनभित्रमा सहमति गरेर आउन शिक्षामन्त्रीलाई भनेका छन् ।



