विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअसहित १४ जना माथी मुद्दा

काठमाडौं/२२ असार – अख्तियार अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका वडा नं. ७ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासहित १४ जना माथी मुद्दा चलाएको छ । विद्यालयको रेटिङ वाल कन्सट्रक्सनको ठेक्का नियमावली विपरीत दिएको भन्दै मुद्दा दायर गरेको हो ।


गाउँपालिकाको अध्यक्षको श्रीमती एवं सोही विद्यालयका शिक्षिकाको नाममा रहेको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई बोलपत्र पारी सार्वजनिक खरिद ऐन नियमावली विपरीत कार्य गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा नियमावली विपरित कार्य गरेको देखिएको अख्तियारले जनाएको छ ।


आ.व. २०७९÷०८० मा विद्यालयको रेटिङ वाल कन्सट्रक्सनकोको ठेक्का इबिआईडी मार्फत बोलपत्र आव्हान गरी, बोलपत्र कागजात तयार तथा मूल्याङ्कन गर्दा साइट भिजिटलाई थप अनिवार्य शर्त राखी सोही आधारमा बोलपत्रको मूल्याङ्कन गरेको, सार्वजनिक खरिद ऐन, नियम तथा शिक्षा ऐन, नियमको मर्म विपरीत सम्बन्धित विद्यालयमै कार्यरत शिक्षिकाको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई छनौट गरेको, बोलपत्र मूल्याङ्कन गर्दा न्यून कबोल अंक भ्याट बाहेक रु.४९,८३,३९४।९० कबोल गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।


साथै महातारा निर्माण सेवालाई बिना कारण साइट भिजिट नभएको भन्ने आधार लिई अयोग्य ठहराएको र चौथो नम्बरको कम कबोल अंक भ्याट बाहेक रु.७९,५१,७२९।८५ भएको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवा संचालकलाई आफूखुशी छनौट गरी उक्त निर्माण सेवाले भुक्तानी पाएको रकम रु.७९,४४,०८७।४५ बाट सबैभन्दा न्यून अङ्क बोल कबोल गर्ने महातारा निर्माण सेवाको भ्याट बाहेक रु.४९,८३,३९४।९० घटाउँदा हुन आउने फरक रकम रु.२९,६०,६९२।५५ बराबरको रकम नेपाल सरकार तथा अन्नपूर्ण माध्यमिक विद्यालयलाई हानिनोक्सानी गरेको पुष्टि भएको आयोगको दाबी छ ।