परीक्षा अगावै मृत्यु भएका विद्यार्थी एसईईमा पास

झापा/१७ असार – यस वर्ष प्रकाशित एसईई नतिजामा लापर्बाही भएको तथ्य झापामा पाइएको छ । गत २०८१ को एसईई परीक्षा हुनु भन्दा एक महिना १८ दिन अगावै मृत्यु भएका एक विद्यार्थी परीक्षामा सामेल भई पास भएको नतिजा आएको छ ।


नतिजा अनुरूप झापाको बाह्रदशी गाउँपालिका वडा न १ मा रहेको अमृत माविका छात्र मानव गौतम कार्यालय व्यवस्थापन तथा लेखा विषयमा पास भएको नतिजा प्रकाशन भएको हो । उनले उक्त विषयमा १।६ अर्थात् ‘डी’ ग्रेड ल्याएको नतिजामा देखिन्छ ।


एसईई परीक्षा २०८१ साल चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको थियो, भने मानवको मृत्यु २०८१ माघ २० गते नै भएको थियो । यस विषयमा अमृत माविका शिक्षक राम बहादुर बुढाथोकी सँग कुरा गर्दा मिहेनत गरेर परीक्षा दिएका विद्यार्थी फेल भएको तर परीक्षामै सामेल नभएका पास भएको देख्ता आश्चर्यमा परेको बताए । परीक्षामै सामेल हुन नसक्ने विद्यार्थी पास भएको नतिजा आउनुले एसईई नतिजा प्रकाशनमा लापर्बाही भएको प्रस्ट देखिन्छ ।