चितवन/८ असार- भरतपुर महानगरपालिका मेयर रेनु दाहालले सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षण सुरू गरिने योजनासहित नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेकी छन् ।
नगर सभामा आर्थिक वर्ष २०८२ ०८३ को नीति तथा कार्यक्रम आज घोषणा गर्दै न्यून सिकाइ उपलब्धि भएका विद्यालयहरूको सिकाइस्तर सुधारको लागि उच्च सिकाइ उपलब्धि भएका सामुदायिक विद्यालयहरूसँग शैक्षणिक क्रियाकलापमा साझेदारी गराइने बताइन ।
विद्यार्थीहरुको कक्षा सिकाइमा सुधारको लागि निरन्तर मूल्याङ्कन प्रणाली प्रभावकारी तुल्याइ “बालबालिकाको हक, सुधारौ शिक्षाको जग; कार्यक्रम सञ्चालन गरिने र विषयगत शिक्षकहरूको अन्तरविद्यालय सहकार्यलाई प्रोत्साहित गर्दै सिकाइस्तरको मुल्याङ्कनमा सामाजिक परीक्षण समावेश गरिने कार्यक्रम प्रस्तुत गरिन ।
हेर्नुहोस पूर्णपाठ
१. अटिजम विशेष विद्यालय तथा फरक क्षमता भएका बालबालिकाहरुलाई विशेष विद्यालयहरु संचालन गर्ने नीतिलाई निरन्तरता दिइने छ । तीन वर्ष उमेर पुगेका सबै बालबालिकाहरूलाई प्रारम्भिक बालविकास शिक्षामा पहुँच पुर्याइने छ । निजी लगानीमा सञ्चालित पूर्व प्राथमिक शिक्षालयहरूको नियमन मापदण्ड जारी गरिने छ ।
२. विद्यार्थीहरुको कक्षा सिकाइमा सुधारको लागि निरन्तर मूल्याङ्कन प्रणाली प्रभावकारी तुल्याइ “बालबालिकाको हक, सुधारौ शिक्षाको जग; कार्यक्रम सञ्चालन गरिने छ । विषयगत शिक्षकहरूको अन्तरविद्यालय सहकार्यलाई प्रोत्साहित गर्दै सिकाइस्तरको मुल्याङ्कनमा सामाजिक परीक्षण समावेश गरिने छ ।
३. स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक एवम् पाठ्यसामग्रीको विकास गरिने छ । विद्यालयको कक्षा घटाउने तथा विद्यालय समायोजन गर्ने एवम् दरबन्दी मिलान, कक्षागत र विषयगत शिक्षक व्यवस्थापनका लागि युवा स्वंम सेवा कार्यक्रमलाई निरन्तरता दिइने छ । संघीय सरकारको स्वंमसेवक शिक्षक कार्यक्रमसँग समायोजन सहित परिमार्जन गरी कार्यान्वयन गरिनेछ ।
४. विपन्न, सीमान्तकृत, लोपोन्मुख र दलित समुदायका बालबालिकाहरूका लागि शैक्षिक प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ । फरक क्षमता भएका बालबालिकाहरूको लागि सञ्चालित श्रोत कक्षा र विशेष विद्यालयहरूको व्यवस्थापनमा सुधार गरिने छ ।
५.“व्यवहारिक शुक्रबार” कार्यक्रमलाई रचनात्मक, व्यवहारिक, प्रयोगात्मक र परियोजनामा आधारित बनाउँदै सिर्जनशिल शिक्षाको आधारको रूपमा कार्यान्वयन गरिने छ ।
६. मन्टेश्वरी, पूर्व प्राथमिक विद्यालय र संस्थागत विद्यालयहरूको शुल्क निर्धारणलाई पारदर्शी बनाउदै संस्थागत विद्यालयबाट प्रदान गरिने छात्रवृत्तिलाई एकीकृत, व्यवस्थित र पारदर्शी बनाइने छ । कोचिङ सेन्टर, सीप विकास तथा तालिम केन्द्र, तयारी कक्षा लगायतका अन्य शैक्षिक संस्थाहरूको अभिलेखीकरण र नियमनलाई प्रभावकारी बनाइने छ ।
७. विद्यालयको अनुगमन र सुपरिवेक्षणलाई सूचकमा आवद्ध गरी प्रभावकारी बनाइने छ । शैक्षिक क्रियाकलापहरूलाई शैक्षिक क्यालेन्डरमा आधारित बनाउदै सामुदायिक र संस्थागत विद्यालयहरूको शैक्षिक क्रियाकलापहरूमा एकरूपता ल्याइने छ। विषयगत प्रयोगशालाको न्यूनतम मापदण्ड तोकिने छ ।
८. सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षण सुरू गरिने छ । न्यून सिकाइ उपलब्धि भएका विद्यालयहरूको सिकाइस्तर सुधारको लागि उच्च सिकाइ उपलब्धि भएका सामुदायिक विद्यालयहरूसँग शैक्षणिक क्रियाकलापमा साझेदारी गराइने छ ।
९. सूचना प्रविधिको उपयोगद्धारा योजनाबद्ध शिक्षणका लागि शिक्षक डायरी र पाठ्यक्रमा आधारित क्रियाकलापमा जोड दिइने छ ।
१०.भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानलाई भाषा, साहित्य, कला र संस्कृतिको उत्थान एवम् अनुसन्धानको लागि प्रभावकारी संयन्त्रको रुपमा विकास गरिने छ । कला र संस्कृतिको संवर्धनका लागि कला गृह (आर्ट ग्यालरी) निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने छ ।
११. कुलत र दुव्र्यसन नियन्त्रणका लागि विद्यालयमा आधारित परामर्श र स्वजागरण कार्यक्रमहरू सञ्चालन गरी युवाहरूमा सकारात्मक सोच विकास गर्ने नीति लिइने छ ।
१२. विद्यालय तहदेखि नै खेल प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न राष्ट्रपति रनिङ शिल्डका अतिरिक्त मेयर कप क्रिकेट, फुटबल र उपमेयर कप भलिबल साथै कराँते, तेक्वान्दो, बुद्धिचाल लगायतका अन्तर विद्यालय प्रतियोगितालाई निरन्तरता दिइने छ ।
१३. शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन र समाज सेवा लगायतका क्षेत्रमा युवा स्वयंसेवक परिचालनलाई निरन्तरता दिइने छ ।



