अन्तिम धक्का आवश्यक भएको भन्दै शिक्षक–कर्मचारीलाई काठमाडौँ आउन महासङ्घको आग्रह

काठमाडौँ/१४ बैशाख – नेपाल शिक्षक महासङ्घले आन्दोलनलाई अझ सशक्त बनाउँदै शिक्षकका मागमुद्दा समेटिएको अग्रगामी ऐन जारी गर्ने सवालमा दरिलो र अन्तिम धक्का आवश्यक भएको भन्दै शिक्षकहरूलाई आन्दोलनमा सहभागी हुने आग्रह गरेको छ । निर्णायक घडीमा रहेको उल्लेख गर्दै देशभरका सबै शिक्षक–कर्मचारीहरूलाई काठमाडौँ आउनुहुन आग्रह गरेको हो ।


साथै काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक शिक्षक र कर्मचारी साथीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेका विज्ञप्तिमा उल्लेख गर्दै संविधान प्रदत्त सामूहिक सौदाबाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गरेको छ । यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक–कर्मचारीहरूलाई महासङ्घले अनुरोध गरेको छ ।


यस्तो छ महासङ्घको विज्ञप्ति


नेपाल शिक्षक महासङ्घ २०५१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा छ । यसैक्रममा २०८१ चैत्र २० गतेबाट सुरु भई काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन चलेको पनि २५ दिन नाघेको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन हो ।


यो आन्दोलनलाई अझ सशक्त बनाउँदै हाम्रा मागमुद्दा समेटिएको अग्रगामी ऐन जारी गर्ने सवालमा अब दरिलो र अन्तिम धक्का आवश्यक भएको छ । यस निर्णायक घडीमा देशभरका सबै शिक्षक–कर्मचारी साथीहरूलाई काठमाडौँ आउनुहुन आग्रह गर्दछौ ।


यसैबिच काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक शिक्षक र कर्मचारी साथीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेका छन् । संविधान प्रदत्त सामूहिक सौदाबाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक–कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ ।