अबको आवश्यकता ‘गो लोकल एजुकेशन’

काठमाडौं/४ बैशाख – “गो लोकल“ भन्नाले स्थानीयस्तरमा हुने उत्पादन, सेवा र संस्कृति आदि अपनाउनुलाई जनाउँछ । यसको अभ्यासले नागरिकलाई दिगो विकास र स्वावलम्बनतर्फ हिँडाउने काम गर्छ । आफ्नो समुदाय, गाउँ, शहर वा देशभित्रै उत्पादन भएका सामान र सेवा प्रयोग गर्न सिकाउँछ । गो लोकलको उद्देश्य स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउनु, रोजगारी सिर्जना गर्नु, वातावरण संरक्षण गर्नु र सांस्कृतिक पहिचान जोगाउनु नै हो । यसको प्रयोगले स्थानीय समुदाय, किसान, उद्यमी र व्यवसायीलाई सहयोग गर्छ । स्थानीयस्तरमै रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । यसको माध्यमबाट स्थानीय कला, भाषा र परम्पराको जगेर्ना गर्न सकिन्छ । यातायातको प्रयोग गरी मालसामानहरू आदानप्रदान गर्नु नपर्ने हुँदा वातावरणको संरक्षण भई प्रदूषण कम हुन्छ ।


गो लोकल एजुकेशन
“गो लोकल एजुकेशन” भन्नाले शिक्षा प्रणालीलाई स्थानीय संस्कृति, भाषा, भेषभूषा, रीतिरिवाज, धर्म र स्रोतसाधनहरूसँग जोडेर विकास गरिएको शिक्षण प्रक्रियालाई जनाउँछ । यसले केन्द्रीकृत शिक्षा अन्य विदेशी शैक्षिक कार्यक्रममा निर्भर नभई स्थानीय समुदायको सहभागिता, स्रोतसाधन र मूल्यहरूमा आधारित शिक्षा प्रदान गर्ने दृष्टिकोणलाई आत्मसात् गर्दछ । यसले आत्मनिर्भरता, रोजगारी र सामाजिक विकासमा टेवा पु¥याउँछ । शिक्षालाई सर्वसुलभ, समावेशी र सन्दर्भअनुसार प्रभावकारी बनाउन सहयोग गर्दछ ।


गो लोकल एजुकेशनलाई एकाइसौँ शताब्दीको प्रारम्भिक दशकदेखि जोड दिएको पाइन्छ । यसको उद्देश्य न्यून–स्रोतसाधन भएका स्थानीय समुदायहरूमा शैक्षिक अवसरहरूको सुधार गर्नु नै हो । यसको मूल मन्त्र “गुणस्तरीय शिक्षा घरमै स्थानीयस्तरमा” भन्ने नै हो । जसले स्थानीय शिक्षकहरू र संस्थाहरूलाई सशक्त बनाउनमा जोड दिन्छ ।


समुदायको बढ्दो सहयोग र साना सहयोगहरूको माध्यमबाट गो लोकल एजुकेशनले आफ्ना कार्यक्रमहरूलाई विस्तार गरिरहेको छ । स्थानीयस्तरमा शैक्षिक कार्यक्रमहरू सुरु गरी र स्थानीय विद्यालयहरूसँग साझेदारी विकास गर्छ । सांस्कृतिक रूपमा सान्दर्भिक पाठ्यक्रमहरू लागु गर्दछ । जसले स्थानीय भाषा, इतिहास र परम्पराहरूको संरक्षणमा जोड दिँदै साक्षरता र स्टिम शिक्षा सुधार गर्ने लक्ष्य राख्छ । विश्वव्यापी प्रवृत्ति र पहुँचको आवश्यकता अनुसार गो लोकल एजुकेशनले एकाइसौँ शताब्दीको दोस्रो दशकदेखि डिजिटल सिकाइ प्लेटफर्मको प्रारम्भ भएको पाइन्छ । यस प्लेटफार्मले दूर दराजमा रहेका विद्यार्थीहरूलाई पहुँच दिन सक्षम बनाएको छ ।


वर्तमान अवस्थामा गो लोकल एजुकेशन निरन्तर विकसित हुँदै गइरहेको छ । जहाँ यसको ध्यान दिगो शिक्षा समाधान, जलवायु साक्षरता र युवाहरूका लागि व्यावसायिक तालिमतर्फ उन्मुख रहेको छ । विश्वभरिका शिक्षाका नमुनाहरूसँग साझेदारी गर्दै आफ्नो प्रभावलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य राख्दछ ।


महत्व


क) स्थानीय भाषा, इतिहास र परम्परालाई शिक्षामा समावेश गरेर युवा पुस्तालाई आफ्नो मूलसंस्कृतिसँग जोड्न सहयोग गर्छ ।
ख) स्थानीय समस्याहरू (जस्तै कृषि, पर्यटन, प्राकृतिक स्रोत व्यवस्थापन) समाधान गर्न उपयुक्त सीपको विकास गराउँछ ।
ग) स्थानीय स्रोत साधन र अवसरहरूको उपयोग गरेर रोजगारी सिर्जना गर्न सहयोग गर्छ ।
घ) शिक्षण सिकाइ प्रक्रियामा स्थानीय नागरिक, विद्यालय र नीति निर्माताहरू सहभागी हुन्छन् ।


आवश्यकता


क) वर्तमान शिक्षा प्रणालीले स्थानीय आवश्यकतालाई पूरा गर्न नसकेको अवस्थामा गो लोकल एजुकेशन मार्फत पूरा गर्न ।
ख) विश्वव्यापीकरणको कारणले स्थानीय संस्कृति र पहिचान जोखिममा परेको अवस्थामा त्यसको संरक्षण गर्न ।
ग) स्थानीयस्तरमा सीप विकास गराई रोजगारीको अवसर सिर्जना गर्न ।
घ) सामुदायिक सशक्तीकरण र सहकार्य बढाउन ।


स्थानीयस्तरमा खेल्नुपर्ने भूमिका


क) नीति निर्माण, पाठ्यक्रममा स्थानीय विषय समावेश गर्ने र बजेट व्यवस्थापन गरी कार्यान्वयन गर्न ।
ख) स्थानीय भाषा, संस्कृति, इतिहास र प्रविधिलाई पाठ्यक्रमसँग जोड्न ।
ग) स्थानीय ज्ञान (जस्तै कृषि, हस्तकला) आदानप्रदान गरी विद्यालयलाई सहयोग गर्न ।
घ) स्थानीय उद्यमीता र सामाजिक उत्तरदायित्व बढाउन ।


स्थानीयस्तरमा पार्ने प्रभाव


क) स्थानीय उद्योगहरू (हस्तकला, कृषि, पर्यटन) भई आयआर्जन वृद्धि हुने ।
ख) समुदायमा सामुदायिक भावनामा वृद्धि भई सांस्कृतिक रूपमा जागृत हुने ।
ग) विद्यार्थीहरूले स्थानीयस्तर कै वातावरणसँग सम्बन्धित ज्ञान प्राप्त गर्ने ।
घ) स्थानीय प्राकृतिक स्रोतहरूको संरक्षणबारे जागरुकता बढ्ने ।


समुदायले गो लोकल शिक्षालाई जगेर्ना


क) विद्यालय, सामुदायिक केन्द्र र सरकारी निकायहरू बीच समन्वय गर्ने ।
ख) स्थानीय विज्ञहरूको अनुभवलाई शिक्षामा समावेश गर्ने ।
ग) स्थानीय उद्योगहरूले सिकारुलाई इन्टर्नशिप गर्ने अवसर दिने ।
घ) गो लोकल एजुकेशन सम्बन्धी कार्यक्रमको महत्व सामाजिक मिडियामार्फत प्रचार गर्ने ।


निष्कर्ष
गो लोकल एजुकेशन नै भविष्यको आधार हो । यसले समुदायलाई आत्मनिर्भर, सांस्कृतिक रूपमा सजिलो र आर्थिक रूपमा सशक्त बनाउँछ । गो लोकल एजुकेशनले स्थानीय आवश्यकता, संस्कृति र भाषालाई प्राथमिकता दिँदै शिक्षालाई सशक्त बनाउने प्रयास गर्छ । यसले समुदायमै आधारित ज्ञान प्रदान गरी रोजगार र आत्मनिर्भरता बढाउँछ । स्थानीय स्रोत र सीप प्रयोग गरी शिक्षामा सस्तो र प्रभावकारी विकल्प दिन्छ । विद्यार्थीहरूलाई आफ्नै परिवेशसँग जोडेर व्यावहारिक ज्ञान प्रदान गर्नु यसको मुख्य लक्ष्य हो । यस्तो शिक्षाले दिगो विकासमा योगदान पु¥याउने सम्भावना राख्दछ । यसलाई सफल बनाउन सबैले सहकार्य गर्नुपर्छ ।
लेखक खिलानाथ धमला (पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विज्ञ हुनुहुन्छ ।)