काठमाडौं/३ बैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले हिजोको मन्त्रीपरिषद्को बैठकले वैशाख १२ गते १ बजे शिक्षकहरूले विधेयक छिटो भन्दा छिटो पारित गरियोस भन्ने मागलाई सम्बोधन गर्नका लागि संसदको आह्वान गरिएको बताएकी छन् । करिब १५ दिन देखि शिक्षकहरू सडकमा आन्दोलनरत रहेको उल्लेख गर्दै सो कुरा बताउकी हुन् ।
उनले हिजो बसेको मन्त्रीपरिषद्को बैठकले शिक्षकहरूको मागलाई सम्बोधन गर्ने गरि केही निर्णयहरू गरेको समेत जानकारी दिइन । साथै शिक्षकहरूले निरन्तर रूपमा भन्दै आएको विद्यालय शिक्षा विधेयक संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अहिले निरन्तर छलफलमा रहेको समेत जनाएकी छन् ।
उनले भनिन् यो विधेयकलाई छिटो भन्दा छिटो पारित गरियोस भन्ने उहाँहरूको मागलाई सम्बोधन गर्दै हिजोको मन्त्रीपरिषद्को बैठकले वैशाख १२ गते १ बजे त्यही विषयलाई समेत सम्बोधन हुने गरि संसदको आह्वान गरेको छ । यसले मलाई लाग्छ शिक्षकहरूले छिटो संसदको आह्वान गरेर हाम्रो विषयलाई सम्बोधन गरियोस भन्ने कुरा प्रति को सम्बोधन हो भन्ने हिसाबले हामी सबैले बुझेका छौँ ।
यसैगरी शिक्षकहरूसँग निरन्तर संवादमा रहेको र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर शिक्षकसँग संवाद गर्नका लागि वातावरण बनोस भनेर लागिरहेको बताइन ।



