काठमाडौं/३ बैशाख – प्रमुख सत्तारुढदल नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयका बारे पार्टीको आधारिक धारणा बनाउनका लागि गम्भीर छलफल शुरु गरेको छ । अधिकांश कांग्रेस पदाधिकारी र शिक्षा विभागबिच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले शिक्षा उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुँदामा रहेको असहमति र विधेयक बारे पूर्ण धारणा निर्माण गर्नका लागि आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महर लाई जिम्मेवारी दिएको छ ।
विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको आत्मसम्मान गर्दै उनीहरूसँग यसअघि सरकारले प्रतिबद्धता जनाए अनुरूप माग सुनुवाइका लागि समेत कांग्रेसले पहलकदमी गर्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले बताए ।
’शिक्षकका माग सम्बोधनका लागि विधेयकका विषयमा धारणा बनाउन सम्बन्धित पक्ष र निकायसँग आवश्यक समन्वयका लागि हामीले शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएका छौँ । उहाँहरूले द्रुत गतिमा विमर्शका माध्यमबाट तयार पारेको धारणालाई पार्टीले विचार विमर्श गरेर मूर्तता दिने छ र त्यो नै पार्टीको आधिकारिक धारणा हुने छ,’ उनले भने ।
चैत २० मा शिक्षक आन्दोलन हुँदा २२ गते नै पार्टी सभापति शेरबहादुर देउवाले समस्या समाधानका लागि सम्बन्धित सरोकारवालासँग छलफल गरेको उनले बताए । ’नेपाल शिक्षक महासङ्घ सभापति, शिक्षक संघ सभापति, महामन्त्रीलगायत नेताहरूलाई बोलाएर बुढानीलकण्ठमा पार्टी सभापतिले छलफल गर्नु भयो । त्यहीँबाट उहाँले अर्थमन्त्री विष्णु पौडेललाई फोन गर्नु भयो । उहाँले शिक्षकका माग सम्बोधनमा सरकारलाई गम्भीर हुन आग्रह गर्नु भएको थियो । शिक्षक प्रतिनिधिसँगको छलफलमा गृहमन्त्री रमेश लेखक, पार्टीका सहमहामन्त्री जीवन परियार र म पनि उपस्थित थियौँ,’ उनले भने ।
त्यसयता शिक्षामन्त्री विद्या भट्टराईसहित अर्थ र गृहमन्त्रीका बीचमा समस्या समाधानका लागि गहन छलफल भइरहेको पौडेलले बताए । त्यसका साथै वैशाख १ मा महामन्त्रीद्वोय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएर शिक्षकका माग सम्बोधनमा सक्रिय हुन निर्देशन दिएको उनले प्रस्ट पारे ।
’शिक्षकको सम्मान गर्नुपर्छ । शिक्षकको मर्यादा गर्नुपर्छ । शिक्षकलाई सम्मानित नगर्दा मुलुक सम्मानित हुन सक्दैन भन्नेमा पार्टी सभापति प्रस्ट हुनुहुन्छ । र, शिक्षा विभागलगायत पार्टीका नेताहरूलाई बोलाएर उहाँले समस्या समाधानमा सक्रिय हुन निर्देशन दिइसक्नु भएको छ । कांग्रेस शिक्षकका माग सम्बोधनमा गम्भीर र जिम्मेवार छ,’ पौडेलले भने ।
पार्टी सभापतिको निर्देशनपछि महामन्त्रीद्वयले आन्दोलनरत शिक्षकको माग सम्बोधनका लागि सोमबार बिहान पार्टी कार्यालय सानेपामा शिक्षक अगुवासँग छलफल गरेको उनले बताए । उक्त छलफलमा शिक्षकका माग सम्बोधनको लागि पहलकदमी लिने प्रतिबद्धता जनाइएको उनले प्रस्ट पारे ।
सोही अनुरूप सोमवार बेलुकी नै संसदीय दलको कार्यालयमा महामन्त्रीद्वय र शिक्षा विभाग प्रमुख महरसहितका नेताहरूको छलफलले पार्टीको आधिकारिक धारणाका लागि विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको उनले बताए । छलफलमा महामन्त्रीद्वय थापा र पौडेल, पार्टीबाट विधेयक उपसमितिका सदस्य डिगबहादुर लिम्बु र महेन्द्र साय यादव, सहमहामन्त्री जीवन परियार, विभाग प्रमुख महर, पार्टी मुख्यसचिव पौडेललगायत सहभागी थिए ।
यस्तै शिक्षा विभाग प्रमुख महरले पार्टीले दिएको जिम्मेवारी पूरा आफूहरू यतिबेला सक्रिय रहेको प्रतिक्रिया दिएका छन् । ’आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको वार्ता अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन । विधेयका लागि बनेको उपसमितिका बीचमा ९२ बुँदामा हल निस्किए पनि २८ बुँदामा सहमति जुट्न सकेको छैन,’ उनले भने ।
यस्तो अवस्थामा आन्दोलन लम्बिँदा शैक्षिक सत्रमा असर पर्नुका साथै राज्यप्रति शिक्षकहरूको विश्वास गुम्दै गइरहेकाले माग सम्बोधनका लागि कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने महरले प्रस्ट पारेका छन् ।



