शिक्षकलाई विद्यालय फर्किन आग्रह, शिक्षा विधेयक यथाशक्य पारित गरिने

काठमाडौं/२ बैशाख – सरकारले वैशाख १२ गते शुक्रवार दिउँसो १ बजे सङ्घीय संसद बैठकको आह्वान गर्ने जनाएको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने जनाएको हो ।


यसैगरी नेपाल शिक्षक महासङ्घले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताएकी छन् । साथै यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको उनको भनाई छ ।


नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको र हाल विद्यार्थी भर्नाको समय एसईईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आआफ्नो कार्यथलोमा फर्किन परिषद्ले अनुरोध गर्ने निर्णय गरेको छ ।